साउन २३, काठमाडौं
देशभर कोरोना संक्रमण तीब्र बन्दै गएको छ । कोरोनाको तेस्रो चरण नेपालमा पनि आइसकेको बिश्लेषण गरिएको छ । पछिल्लो भेरियन्ट तीब्र गतिमा फैलने र धेरै समस्या पार्न सक्ने भन्दै बिज्ञहरुले सर्तक रहन सुझाव दिएका छन् । बिशेष गरि बालवालिकाहरुमा जोखिम बढ्न सक्ने आंकलन समेत गरिएको छ ।
पछिल्लो २४ घन्टामा देशभर तीन हजार दुई सय १८ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार दुई सय ३१ र एन्टिजेन परीक्षणमा नौ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरण अनुसार यो अवधिमा आठ हजार आठ सय ६६ जनाको पिसिआर र चार हजार सात सय सातजनाको एन्टिजेन परीक्षण गरिएको थियो । शनिबार एक हजार सात सय १२ जना डिस्चार्ज भएका छन् भने १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार ३८ पुगेको छ ।
सबैको सहयोगले मात्र कोभिड रोकथाम हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सबैको साझा प्रयास हुनुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारदेखि शुरु गरेको ‘नेपाल मास्क अभियान’ सन्दर्भमा उनले दिएकोे भिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा बताएका हुन् ।
प्रधानमन्त्री देउवाले माहामारीको तेस्रो लहर फैलन सक्ने लक्षण देखिएकोले आम नागरिकहरु सजग र सचेत हुनुपर्ने बताए । उनले भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले आग्रह गरिहँदा पनि भिडभाँड हुने कार्यक्रमहरु भने देशैभर सञ्चालन भइरहेको देखिन्छ ।
आवश्यक परेको बेला मात्र घर बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन र भौतिक दुरी कायम गर्न आग्रह गरेका छन् ।
महामारी नियन्त्रण गर्ने प्रभावकारी उपाय खोप रहेको भन्दै विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य सरकारले जारी राखेको बताउँदै खोप लगाउँदा दूरी कायम गरी लाइनमा बस्नसमेत अनुरोध गरे ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मास्क र खोप अभियानलाई वडावडामा स्वयंसेवक राखेर सफल पर्नुपर्ने बताएका छन् ।
आम नागरिकले सही ढङ्गबाट मास्क लगाउने र मास्क लगाउन उत्प्रेरित गर्नका लागि अभियान शुरु गरिएको जानकारी दिए । मास्कको सही प्रयोगले संक्रमण हुनबाट जोगिने भएकोले सबैले ध्यान दिन आग्रह गरेका छन् ।
स्वास्थ्य सचिव डा रोशन पोखरेले मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएकाले अभियान सञ्चालन गर्नुपरेको बताए । ‘मास्क आफूलाई बच्न मात्र नभएर आफ्नो परिवार, समाजलाई बचाउन महत्वपूर्ण भूमिका खेल्दछ’, उनले भने, ‘त्यसैले सबै नेपालीलाई अनिवार्य मास्क लगाउन आग्रह गर्न चाहन्छाँै ।’ उनले जनस्वास्थ्य मापदण्ड उल्लघन भएको र मास्क लगाउन पनि हेलचक्र्याइँ गरेकाले स्वास्थ्य मापदण्ड र मास्कको महत्वबारे जानकारी गराउन अभियान गरिएको जानकारी दिए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी विच्छाले घर बाहिर निस्कँदा मास्क लगाएर मात्र निस्कन आग्रह गरेका छन् उनले यही साउन २५ गतेदेखि एस्ट्राजेनिका खोप साढे १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको लगाउने जानकारी दिए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश पाण्डवले मास्क लगाउनु आफ्नो समुदायप्रति सहयोगी बन्नु पनि रहेको बताए । सवारी साधन चलाउँदा अघि सिटबेल्ट, मोटरसाइकल चलाउँदा हेलमेटजस्तै घरबाट निस्कदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गरे ।
मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्नका लागि ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धताः मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शुरु गरेको अभियान यही साउन २९ गतेसम्म सञ्चालन गरिने छ । म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।









