दैलेखमा करिव २ सय २५ वर्ष अघिदेखि सञ्चालन हुँदै आएको बर्षेमेला जिल्लाको निकै पुरानो संस्कृति मानिन्छ । पुस्तान्तरण सँगै अहिले युवाहरुले बर्षेमेला सञ्चालन गरिरहेका छन् ।
तत्कालिन समयमा मेला सञ्चालन गरेवापत बर्षभरी तिर्ने तिरो मिनाहा हुने, जिल्लाभरका मानिसहरु मेलाको अवसर पारेर जिल्ला सदरमुकाम दैलेख बजार आउने, स्थानीय मानिसहरुले उत्पादन गरेका, राडी, पाखी, डोका, नाम्ला, ध्यू, मह बिक्रि गर्ने, मनोरञ्जन गर्ने र आपसी भेटघाट गर्ने महत्वपूर्ण माध्यमको रुपमा मेलाको पहिचान हुँदै आएको छ ।
पुराना संस्कृतिहरु हराउँदै जान थालेपछि युवा पुस्ताले यस्ता संस्कृतिहरु जोगाउन बिभिन्न प्रयासहरु गरिरहेका छन् । बिशेष गरेर लाखे जात्रा कृष्ण लिलासँग पनि जोडिएको पाइन्छ । यस्ता बिषयहरुको संबद्र्धन र प्रर्बद्धन गर्नका लागि सम्बन्धित निकायहरुले ठोस नीति निर्माण गर्न नसकेको भएपनि बिभिन्न चुनौतीको सामाना गर्दै मेला निरन्तर सञ्चालन भइरहेको छ ।
संघीयता सँगै पालिका स्तरसम्म बर्षे मेला सञ्चालन गर्ने गरिएको छ । पछिल्ला दुई बर्षमा कोरोना कहरका कारण मेला व्यवस्थापनमा चुनौती थपिएको छ । कोभिड संक्रमणको बिषयलाई मध्यनजर गर्दै बिशेष दिनहरु बाहेक अन्य दिनमा मेला सञ्चालन नगर्न र भौतिक दुरी कायम गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ ।
जिल्लाका पुराना कला संस्कृतिहरुको संरक्षण र प्रर्वद्धन गर्न जसरी युवापंती लागिरहेको छ त्यसैगरी सम्बन्धित निकायहरुले पनि यसवारे थप सहयोग गर्नुपर्ने अहिलेको आवश्यकता हो ।








