दैलेखमा शेयर खरिद बिक्रि कारोवार बढ्दै

दैलेखंः जिल्लामै रहेका बैंकहरुबाट डिम्याट खाता खोलेर शेयर खरिद बिक्रि गर्न सकिने भएपछि दैलेखमा शेयर खरिद बिक्रिको कारोबार बढ्दै गएको छ ।
पछिल्ला दिनहरुमा डिम्याट खाता सञ्चालन गर्नेहरु समेत बढेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख चेतन बिसिले जानकारी दिएका छन् । वाणिज्य बैकमा मात्रै करिव ३ सय बढी खाता खोलिएको बि.सी.ले जानकारी दिएका छन् ।
दैलेखमा रहेका २० भन्दा बढी निजी बैंकहरुमा समेत अहिले शेयर खरिदका लागि खाता खोल्नेहरुको संख्या बढ्दै गएको छ । शेयर बजारमा बढीजसो कर्मचारी र व्यापारीहरुको संलग्नता धेरै देखिएको छ ।
के हो डिम्याटः बैँकमा पैसा जम्मा गर्न वा निकाल्न खोलिने खाता जस्तै सेयरको कारोबार गर्न खोलिने खाता हो, डिम्याट । आफ्नो सेयर जम्मा गर्न खोलिने खातालाई डिम्याट खाता भनिन्छ । डिम्याट खाता खोलिसकेपछि प्राइमरी तथा सेकेण्डरी बजारमा खरिद गरेका सेयर डिम्याट खातामा जम्मा हुन्छ । चेक साट्दा आफ्नो बैंक खाताको पैसा घटेजस्तै आफूले सेयर बिक्री गर्दा डिम्याट खाताबाट सेयर घट्छ । जति सेयर बिक्री गरेको हो त्यति सेयर घट्छ भने किनेको सेयर खातामा जम्मा हुन्छ ।
सेयर बजारको कारोबारलाई छिटो–छरितो तथा प्रभावकारी बनाउनका लागि डिम्याट खाता खोल्नुपर्ने नियम ल्याइयो । भौतिकरुपमा भएका सेयरका प्रमाणपत्रलाई अभौतिकीकरण गर्ने प्रकिया डिम्याट हो ।
कम्पनीको सेयरको स्वामित्व हुनेलाई सेयर धनी भनिन्छ । कम्पनीमा सेयरको स्वामित्व पुष्टि गर्ने प्रमाणलाई सेयर प्रमाणपत्र भनिन्छ । कम्पनीमा लगानी छ भन्ने प्रमाण देखिने कागज सेयरको प्रमाणपत्र हो ।
अनिवार्य डिम्याटः
प्राइमरी र सेकेण्डरी मार्केटमा सेयर कारोबार गर्न डिम्याट खाता अनिवार्य हुन्छ । विशेषगरी प्राइमरी मार्केटमा सेयर भर्नका लागि र सेकेण्डरी मार्केटमा खरिद बिक्री गर्नका लागि डिम्याट खाता अनिवार्य छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एकल स्वामित्वमा रहेको सीडिएस एण्ड क्लेरिङ लिमिटेडले डिम्याट अनिवार्य गरेको हो ।
कहाँ खोल्ने खाता ?
सेन्ट्रल डिपोजिटरी सिस्टम (सिडिएस) लाई केन्द्रीय निक्षेप प्रणाली भनिन्छ । यो सेयरको बैंक हो । सिडिएसले डिम्याट सम्बन्धी नियमन तथा निगरानी गर्छ । सिडिएसले आफैँले भने खाता खोल्दैन । सिडिएसले अनुमति दिएका निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिन्छ । निक्षेप सदस्य भन्नाले सिडिएसबाट डिम्याट खाता खोल्न अनुमतिप्राप्त संस्था हुन् । बैंक, मर्चेन्ट बैंक, ब्रोकर कम्पनीजस्ता निक्षेप सदस्य संस्था यो भित्र पर्दछन् ।
सिडिएसको वेबसाइटमा गएर पनि अनुमतिपत्र लिएका संस्था कति छन् भन्ने जानकारी लिन सकिन्छ । हाल सिडिएसबाट अनुमति प्राप्त ६९ वटा निक्षेप सदस्यबाट डिम्याट खाता खोल्न सकिन्छ । अहिलेसम्म नेपालमा १४ लाख ४३ हजार भन्दा धेरै डिम्याट खाता खोलिएको छ । चार अर्ब चार करोड ८४ लाख ९३ हजारभन्दा धेरै कित्ता सेयर डिम्याट भैसकेका छन् ।
नयाँ डिम्याट खाता खोल्न ५० रुपैयाँ शुल्क लाग्छ । वार्षिक नवीकरण शुल्कसमेत एक सय रुपैयाँ तिर्नुपर्ने भएकाले सुरुमा डिम्याट खाता खोल्दा एक सय ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । डिम्याट खाता खोलिसकेपछि बैंक खाता नं. जस्तै खाता नम्बर दिइन्छ ।
खरिद–बिक्री पक्रिया
सेयर खरिद–बिक्री गर्दा बैंकमा चेकबाट पैसाको कारोबार गरेजस्तै चेकबाट सेयरको कारोबार गर्न सकिन्छ । सेयर बिक्री गर्दा बिक्रेताले चेक दिन्छ । खरिदकर्ताको खातामा सेयर ट्रान्सफर हुन्छ । ब्रोकरमार्फत कारोबार गरिन्छ ।
ब्रोकरकहाँ निवेदन दिनुपर्छ, सेयर खरिद गर्नका लागि । कति कित्ता, कुन कम्पनीकोे सेयर खरिद गर्ने हो अर्डर दिँदा खुलाउनु पर्छ । ब्रोकरलाई विक्रेताले पनि बेच्ने सेयरको बारेमा जानकारी दिएको हुन्छ । किन्ने र बेच्नेबीचको अनुकूलता मिलेपछि सेयरको खरिदबिक्री गर्न सकिन्छ । किन्ने–बेच्ने दुवै पक्षको डिम्याट खाता हुन्छ । किनिसकेपछि किन्नेको खातामा सेयर जम्मा हुन्छ भने बिक्री गर्नेको खातामा रकम जम्मा हुन्छ । सेयर बिक्री गर्नेले खाताबाट सेयर बिक्री गरेको रकम भुक्तानी गर्न सकिन्छ ।
सेकेण्डरी मार्केटमा कारोबार गर्ने तरिका
प्राइमरी मार्केटमा सेयर भर्दा प्रत्येक व्यक्तिको छुट्टै डिम्याट खाता हुनुपर्छ । एक व्यक्तिको खाताबाट अन्य व्यक्तिको नाममा सेयर भर्न सकिँदैन ।
प्राइमरी मार्केटमा प्रवेश नगरी सिधँै दोस्रो बजारमा सेयरको कारोबार गर्न चाहने व्यक्ति वा संस्थालाई पनि डिम्याट खाता अनिवार्य छ ।
निक्षेप सदस्यकहाँ जम्मा भएको आफ्नो सेयर बेच्नुपरेमा सर्वप्रथम निक्षेप सदस्य वा डिम्याट खाता खोलेको संस्थामा गएर विक्रेताले डेबिट इन्ट्रक्सन स्लिप अर्थात् हस्तान्तरण निर्देशन पूर्जी भर्नुपर्छ । बिक्री गर्न चाहेको कम्पनीको नाम, सेयरको कित्ता र हस्ताक्षर गरेर निक्षप सदस्यले रुजु गर्नुपर्छ । रुजु भएपछि निक्षप सदस्यले लगानी कर्ताको आदेशबमोजिम ब्रोकर कम्पनीको बिक्री खातामा सेयर सारिदिन्छ र खरिद भएपछि ब्रोकरले सेयर खरिद गर्ने व्यक्तिका डिम्याट खातामा सेयर सारिदिन्छ । अनलाइनमार्फत आफैँ पनि बिक्री भएको सेयर ट्रान्सफर गर्न सकिए पनि सो प्रभावकारी भने छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार