
भाद्र १८, दैलेख
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि शुक्रवार देखि वडा तहको अधिवेशन सुरु भएको छ । दैलेखमा ९० वटै वडामा अधिवेशन सुरु भएको हो । अधिवेशन भएका मध्ये अधिकाँस स्थानमा सर्वसम्मत नेतृत्व चयन गर्ने काम सम्पन्न भइसकेको नेपाली काँग्रेस दैलेखले जानकारी दिएको छ ।
नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्णकुमार बि.सी.ले जिल्लाका सबै वडाहरुमा निकै सौहार्दपूर्वक अधिवेशन सम्पन्न भएको खबर आएको बताएका छन् ।
क्षेत्र नं. १ का क्षेत्रीय सभापति गणेश उपाध्यायले क्षेत्र नं. १ अधिकाँस स्थानहरुमा सर्वसम्मतिका आधारमा नेतृत्व चयन भएको र केही स्थानमा मात्र चुनाव भएको बताए । क्षेत्र नं. २ का केही स्थानहरुमा पनि चुनाव भएको जानकारी प्राप्त भएको बताएका छन् ।
सुर्खेत र डोल्पामा सदस्यता विवादका कारण अधिवेशन अनिश्चित भएको भएपनि कर्णालीका ८ जिल्लामा शुक्रबार देखि अधिबेशन सुरु भएको हो । केन्द्रीय कार्यतालिका अनुसार यही भदौ २३ गतेसम्म वडा अधिवेशन गरिसक्नुपर्ने कार्यतालिका छ ।









