भाद्र २१, काठमाडौं
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सरकारले तानाशाही बाटो लिएको बताएका छन् । शनिवार काठमाडौंमा राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकारले संविधानलाई चुनौती दिएर नबोल्न निर्देशन दिन्छ । भन्छ बोलेमा कारबाही हुन्छ । शान्तिपूर्ण बाटो छाडेर तानाशाही बन्न खोजेको छ। त्यसैले तानाशाही धेरै टिक्दैन ।’
सरकारले छिमेकी मुलुकसँगको कुटनीतिक सम्बन्ध बिगार्नका लागि विवादको बखेडा झिकेको उनले आरोप लगाए । ‘एमाले सरकार ढलेको छ । तर, एमालेप्रति जनताको भरोसा ढलेको छैन,’ ओलीले भने ।
दार्चुलाको तुइन प्रकरणमा छानबिन समितिले खसालेको भनेर प्रतिवेदन आउँदा समेत सरकारले केही बोल्न नसकेको उनले आरोप लगाए । देउवा नेतृत्वको गठबन्धनको सरकारले अहिलेसम्म विकास निर्माणको काम नगरेको उनको भनाई छ ।
ओलीले गठबन्धन सरकारलाई भने, ‘उनीहरुको चिन्तनमा देश छैन, जनताप्रति उत्तरदायी छैन । यो सरकारले देशमा तुइनबाट नेपाली झर्दा केही बोल्न सकेको छैन । भारतीय हेलिकोप्टर देशमा आएर घुमिरहेको बेलामा पनि केही बोल्न सक्दैन । यसलाई भनिन्छ घरको बाघ, वनको स्याल ।’
उनले एमाले नेतृत्वको सरकारले मात्रै गुमेको भूमि लिनसक्ने दाबी गरे। देउवा नेतृत्वको सरकार केही क्षणका लागि आएको पाहुना भएकाले जनताले छिट्टै बिदाई गर्ने बताए । अबको १५ महिनामा खोजेर पनि यो सरकारका नभेट्ने उनको दाबी छ ।









