
भाद्र २१, दैलेख
दैलेखको पञ्चकोशी क्षेत्रमा सदियौँदेखि निरन्तर बलिरहेको ज्वालाकै कारण नेपालको कुनै भू–भागमा जमिन भित्र पेट्रोलियम पदार्थ रहेको प्रमाणित धेरै वर्ष अघिदेखि भइसकेको भएपनि कुन भू–भागमा छ भन्ने कुरा पुष्टि हुन सकेको थिएन ।
चीन सरकारले अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रारम्भिक प्रतिवेदनले दैलेखकै कुनै भू–भागमा ग्यास र पेट्रोल भएको हुनसक्ने थप पुष्टि गरेको छ । चीन सरकारको टोलीले दैलेखमा पहिलो चरणमा विभिन्न चारवटा अन्वेषणहरु गरेको थियो । करिब ३ हजार भन्दा बढी स्थानहरुमा सामान्य ड्रिलिङ समेत सम्पन्न गरिसकेर टोली चीन फर्केको थियो ।
पछिल्लो सेस्मिक सर्वेको अन्तिम प्रतिवेदनलाई आधार मान्ने हो भने अव दैलेखकै कुनै भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्याँस छ भनेर अन्तिम सर्भे हुने भएको छ । ग्याँस वा पेट्रोल छ भनेर त अहिले हैन उतिवेलै प्रमाणित भएको अवस्था हो तर कहाँ र कति मात्रामा छ भन्ने विषय महत्वपूर्ण रहेको खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।
पछिल्लो प्रतिवेदनलाई आधार मान्ने हो भने अव अन्तिम अन्वेषणको काम सुरु हुने देखिएको छ । प्रतिवेदनको रिपोर्ट सकारात्मक देखिएको छ । भूगर्भविद् डा. सुधीर रजौरेले भने, कहाँ र कति परिमाणमा छ भन्ने विषयको अध्ययन अव सुरु हुन्छ । चीनको विज्ञ टोलीले आफ्नो देशबाट नेपाल आउन अनुमति पाउना साथ र नेपालमा कोरोना संक्रमण दर कम हुनासाथ थप अन्वेषणको काम सुरु हुन्छ । अव थप अनुसन्धानका लागि प्रक्रिया अगाडी बढाउनुपर्ने देखिएको छ । दुई सरकारवीचको जीटुजी सम्झौता अनुसारका काम सुरु भएकोले निरन्तर काम चलिरहन्छ रजौरेले जानकारी दिएका छन् ।
करिब दश वर्ष अघि पनि दैलेखमा बलेको ग्याँसकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीहरुले नेपालका विभिन्न दशवटा जिल्लाहरुमा अन्वेषण सुरु गरेका थिए । विभिन्न कारणले अन्वेषणका कामहरु हुन नसकेपछि सरकारले सम्झौता रुद्ध गरेर चीन सँग नयाँ सम्झौता गरेको थियो । तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भूगर्भ विभागको तत्थ्याङ्कमा उल्लेख गरिएको छ ।
४ हजार मिटर
गहिरो ड्रिलिङ हुने
अन्वेषणको अन्तिम चरणमा जमिन मुनि चार हजार पाँच सय मिटर गहिरो ड्रिलिङ गरिने भएको छ । विभागले दिएको जानकारी अनुसार यही ड्रिलिङ पछि मात्र कति परिमाणमा ग्याँस वा पेट्रोल छ भनेर थाहा हुने छ । यो काम पहिलो सर्वे गरिएको कुनै स्थानभित्र हुनसक्छ, अहिले स्थान भन्न मिल्दैन खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ । अन्वेषणको पछिल्लो प्रतिवेदनलाई आधार मान्ने हो भने दैलेखको कुनै भू–भाग भित्र ग्याँस वा पेट्रोल छ भनेर सहजै अनुमान गर्न सकिने देखिएको हो ।
नेपाल र चीन सरकारले भने पेट्रोलियम पदार्थको उत्खनन्का लागि सन् २०१७ मा सम्झौता गरेको थियो । सोही अनुसार विभिन्न चरणमा अहिले काम सुरु भइरहेका छन् ।
कोरोनाका कारण रोकियो अन्तिम सर्वेक्षण
विभागका अनुसार दैलेखमा काम सुरु भइरहेकै बेलामा कोरोना संक्रमणको दर बढेपछि केही समस्या भएको छ । अन्तिम सर्वेक्षणका लागि प्राविधिक टोली र आवश्यक उपकरण ल्याउन समयमै सकिएको भए अहिलेसम्म अन्तिम नतिजा पनि आई सक्थ्यो । कोभिड संक्रमणकै कारण झन्डै १८ महिना अन्वेषणको काममा ढिलाइ भएको छ ।
दैलेखका विभिन्न ठाउँमा २०७६ असोजबाट अन्वेषणको काम सुरु गरिएको थियो । चीन सरकार र नेपाल सरकारको संयुक्त अन्वेषण कामका लागि दैलेखको श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार लगायत दैलेखको सिमानामा पर्ने जिल्लाहरु कालिकोट, अछाम, सुर्खेत र जाजरकोट सम्म ड्रिलिङको काम गरिएको थियो ।









