विकास निर्माणमा दलीय एकता प्रभावकारी ः थापा


दैलेख ः जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जिल्लाको विकास निर्माणमा राजनीतिक दलहरुको दलीय एकता प्रभावकारी रहेको बताएका छन् ।
स्वच्छता परियोजनाले दैलेखमा आयोजना गरेको परिचयात्मक गोष्ठीमा बोल्दै थापाले जिल्लाको महत्त्वपूर्ण कामहरुका लागि सबै दलहरु एकमत रहेकोले विकासका काम गर्न सजिलो भएको बताएका हुन् । विभिन्न गैर सरकारी संस्थाहरुले जिल्लामा गरेका कामहरु प्रभावकारी छन्, दैलेखलाई स्वच्छ र सफा बनाउन सबैले अझै हातेमालो गर्नुपर्ने थापाको भनाई छ । स्वास्थ्य नागरिक हुनका लागि वातावरण स्वस्थ्य हुनुपर्दछ, सुआहारा र पौष्टिकता हुनुपर्ने थापाको भनाई छ । सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले निर्माण गर्ने भौतिक संरचनाहरु वालमैत्री र अपाँगंमैत्री हुनुपर्ने बताएका छन् ।
गोष्ठीमा सहभागिहरुले ग्रामीण भेगका जनताको स्वास्थ्य अवस्थालाई सूक्ष्म अध्ययन गरी कामको थालनी गर्न सके प्रभावकारी हुने सुझाव दिएका छन् ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख थिर प्रसाद रेग्मीले जिल्लामा स्वास्थ्यको क्षेत्रमा काम गर्न चाहने सामाजिक सस्थाहरुले ११ वटा स्थानीय तहका ९० वटा वडाहरुमा रहेका १ सय ३ वटा स्वास्थ्य संस्थासँग समन्वय गरेर काम गरेको खण्डमा सहज हुने बताए ।
अहिले पनि दुर्गमका महिला सुरक्षित सुत्केरी हुन स्वास्थ्य संस्था नजाने गरेकाले स्वच्छता परियोजनाले त्यस तर्फ ध्यान दिँदै ग्रामीण भेगका जनाका लागि सबैले काम गर्नु पर्ने बताएका छन् ।
गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले गैर सरकारी संस्थाहरु काम गर्न इच्छुक हुँदाहुँदै पनि स्थानीय सरकारहरुले साझेदारी गर्ने काममा चासो नदिएको र सुशासन मैत्री हुन नसकेको बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका डा. जगत बहादुर थापाले ग्रामीण भेगमा बिरामी परेको खण्डमा धामी झाँक्रीको भर पर्ने प्रचलन अहिले पनि कायम रहेकोले सामाजिक सस्थाहरु कुप्रर्थाला चिर्न अग्रसर हुनु पर्ने बताए ।
स्वच्छता परियोजनाका प्रमुख बल बहादुर थापाले सामाजिक अभियानहरु सञ्चालन गर्दा सबैको हातेमालो हुनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार