भाद्र २९, दैलेख
दैलेखको गुराँस गाउँपालिका–८ लालिकाँडामा रहेको मालिका माविका सामाजिक शिक्षक नगेन्द्र कुमार बिसीको मृत्यु नभई हत्या भएको हुनसक्ने भन्दै प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । विद्यालयको बरण्डामै घाँटीमा धारीलो हतियार प्रयोग गरेर घाँटी रेटिएको अवस्थामा उनको शव भेटीएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । मंगलवार बिहान दुध पु¥याउन जाने मानिसहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक इन्द्रजित सुनार सहितको टोलि घटनास्थल पुगेर बिस्तृत अध्ययन पछि शंकास्पद २ जनालाई पक्राउ गरिएको र अनुसन्धान सुरु भएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ पर्नेमा एक पुरुष र एक महिला रहेका छन् । मृतकको शव जिल्ला ल्याएका छौं, पोष्टमार्टम रिपोर्टबाट पनि धेरै कुरा बाहिर आउँछ, पक्राउ परेका व्यक्तिहरुसँग अनुसन्धान सुरु हुँदैछ, प्रहरी प्रमुख श्रेष्ठले भने ।
४२ वर्षीय नगेन्द्रबहादुर बिसी विद्यालयको बरण्डामा घोप्टो परेको अवस्थामा मृत भेटीएका छन् । शव भएको स्थानमा रगत धेरै बगेकोे प्रहरीले जानकारी दिएको छ ।









