
असोज २, दैलेख
दैलेखमा पाँच वर्ष मुनिका बालबालिकाहरूमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । रुघाखोकी लाग्ने, ज्वरो आउने र निमोनिया भएका बालबालिकाहरूले स्वास्थ्य सेवा कार्यालय दैलेख भरिएको छ । दैनिक ३० भन्दा बढी बालबालिकाहरू उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा आउने गरेका छन् । १५ बेड क्षमता भएको स्वास्थ्य सेवा कार्यालय दैलेखमा ५२ बेड राखिएको छ । इमरजेन्सी र सामान्य वार्डमा समेत बिरामी बालबालिकाहरू भरिभराऊ छन् ।
विगत एक महिनादेखि भाइरल ज्वरोको संक्रमण देखिएको र बालबालिकाहरू धेरै प्रभावित भएको डा. जीवन ज्ञवालीले जानकारी दिएका छन् । बिरामी बालबालिकाहरूमा कोभिड जाँच गर्दा नेगेटिभ देखिएको छ । गाउँघरमै सामान्य बिरामी पर्दा निजी स्वास्थ्य क्लिनिकहरूले पहिलो चरणमै बालबालिकाहरूलाई यान्टिबायोटिक औषधि चलाएको भेटिएको र जिल्लामा उपचार गर्न आउँदा निमोनिया भइसकेको अवस्थामा बालबालिकाहरू आउने गरेकोले डाक्टरको सल्लाह अनुसार औषधि खुवाउन अभिभावकहरूलाई डा. ज्ञवालीले सुझाव दिएका हुन् ।
भाइरलको प्रकोप बढ्दै गएकोले अभिभावकहरूले बालबालिकाहरूको सुरक्षा सतकर्तामा ध्यान दिन एउटा बालबालिकामा ज्वरो देखिए अर्को बालबालिकासँगको सम्पर्क भन्दा टाढा राख्न, मास्क अनिवार्य प्रयोग गरेर स्वास्थ्यका मापदण्ड पुरा गर्न स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले आग्रह गरेका छन् ।









