असोज ४, काठमाडौं
नेकपा (एमाले)ले पार्टीका सबै पदाधिकारी निर्वाचित गर्ने भएको छ । यसअघि अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय कमिटीबाट गर्ने व्यवस्था सहितको प्रस्ताव ल्याइएको थियो ।
विधान महाधिवशेनमा पेश गर्ने प्रतिवेदनबारे छलफल गर्न दुई दिन चलेको बैठका निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले पछिल्लो पटक आएको विधान संसोधन सम्बन्धी प्रस्ताव मुलतः नवौं महाधिवेशनकै निरन्तरता भएको बताए ।
‘नवौं राष्ट्रिय माहाधिवेशनकै निरन्तरता छ,’ उनले भने, ‘संघीयता अनुसारको विधान पनि आएको छ । अहिले सबै पदाधिकारी हलबाट निर्वाचित हुने भन्ने प्रस्ताव छ । त्यसलाई हामीले कायम राखेका छौं ।’
अध्यक्ष मात्रै निर्वाचन हुने व्यवस्थाप्रति पार्टी भित्रै असन्तुष्टि बढेपछि पुरानै संरचना कायम गरिएको हो । उपाध्यक्ष तीन जना मात्रै रहेन व्यवस्था नयाँ प्रतिवेदनमा गरिएको भट्टराईले जानकारी गराए । यसअघि ७ जना उपाध्यक्ष रहने प्रस्ताव गरिएको थियो ।
आइतबार देखि चलेको बैठकले विधान महाधिवेशनमा पेश गर्ने तीन प्रतिवदेनमा स्थायी कमिटी सदस्यहरुले लिखित र मौखिक धारणा राखेको उनले जानकारी दिए ।









