एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रर्दशन


असोज ८, दैलेख
नेपाल मजदुर किसान पार्टी दैलेखले एमसीसी सम्झौता खारेजिको माग गर्दै प्रर्दशन गरेकोे छ ।
शुक्रवार चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँध बजारमा एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावादलगायतका नारा लगाउदै प्रर्दशन गरेका छन् । पार्टी नगर सम्मेलनको सिलसिलामा आयोजित कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती भन्दै त्यसको खारेजीको माग गरिएको थियो । पार्टी नगर समितिको दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेमकिपा, कर्णाली प्रदेशको संयोजक तथा पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईले जन दबाबकोकारण एमसीसी सम्झौता पारित नगरिएको तर सम्झौता कुनै पनि बेला पारित गर्न मौका खोजिरहेको बताए ।
उनले एमसीसी पारित गर्ने अमेरिकी साम्राज्यवादका दलालहरूलाई जनताले सजाय दिने भन्दै नेपाली जनता देशको सार्वभौमिकता रक्षाको निम्ति एकजुट हुनुपर्ने धारणा राखे । केन्द्रीय सदस्य गोसाईले शिक्षा र स्वास्थ्य निःशुल्क नगर्ने कुनै पनि पार्टी कम्युनिस्ट हुन नसक्ने भन्दै एमाले, माओवादी वा सरकारमा जाने कुनै पार्टीले नामकै आधारमा धोका दिइरहेको बताए ।
उनले नेमकिपाले समाजमा वैज्ञानक तथा भौतिकावादी चिन्तनको विकास गर्ने प्रयास गरिरहेको भन्दै कोभिड–१९ नियन्त्रणको नाममा शासकहरूले मैनबत्ती बाल्ने, घण्टी बजाउने, कालो टीका लगाउनेजस्ता अन्धधारणा प्रचार गरेको उल्लेख गरे ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले गणतन्त्रले पनि जनताको जीवनस्तरमा परिवर्तन नआएको भन्दै समाजवादी गणतन्त्रको निम्ति संघर्ष गर्नुपर्ने विचार राखे ।
उनले एमसीसीमा सबै शासक दलहरू मुछिएका भन्दै दार्चुलामा नेपाली मारिएर पनि नेपाली शासकहरू विरोध गर्न नसकेको बताए ।
नेमकिपा पूर्व केन्द्रीय सदस्य एवम् गुराँस गाउँपालिका अध्यक्ष उदयजङ शाहीले उत्पादनका साधन समाजिकीकरण नगर्ने पार्टी कम्युनिस्ट हुननसक्ने भन्दै नेमकिपाले योग्यता विकासमा समान अवसरको निम्ति संघर्ष गरिरहेको विचार राखे । नेमकिपा दैलेखका सचिव लक्ष्मीकुमार विकले एमसीसी सम्झौताको विरोधमा नेमकिपाले गाउँ गाउँमा प्रदर्शन गरिरहेको बताए । एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावादलगायतका नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार