विधान महाधिवेशनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौंः नेकपा (एमाले) को शुक्रवारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन् । बैठकमा साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नुका साथै छलफल हुनेछ । अध्यक्ष ओलीले स्थायी कमिटीको सुझावसहित प्रतिवेदन ल्याइएको र विधान महाधिवेशनको व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्नेछ । हाम्रा आन्तरिक र राष्ट्रिय राजनीतिका समस्या छन् । त्यसमा छलफल गर्नुपर्छ । आगामी मंसिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक छ ।’ बैठकमा पार्टीका केन्द्रीय निकायमा प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ ।
यस्तै, नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।
भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले आफ्नो वितरित प्रतिवेदनमाथि छलफल गरी आज दिउँसो १ बजे बस्ने अर्काे बैठकमा टोली नेतामार्फत सुझाव पेश गर्ने सो पार्टीका प्रचारविभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए ।
यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेश हुनेछन् । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।
प्रमुख भट्टराईले पार्टीभित्रका कतिपय आन्तरिक समस्याका सम्बन्धमा छलफल गर्दै अघि बढ्ने प्रक्रिया चलिरहेको बताए । पार्टीभित्र १० बुँदे प्रस्तावको कार्यान्वयका क्रममा भएका समस्याबारे नेतृत्व तहमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार