एमाले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने

असोज १०, काठमाडौं
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने निर्णय गरेको छ । असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशनका प्रतिनिधि केन्द्रीय कमिटीले टुंगो लगाएको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवासका समेत गरी ५ हजार प्रतिनिधिले विधान महाधिवेशनमा भाग लिने जानकारी दिए ।
विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिने उनले जानकारी दिए । केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मन्च पर्छन् । त्यस्तै केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिने भट्टराईले बताए ।
जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । त्यस्तै घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम् १० जना सदस्यले सहभागी हुने भट्टराईले बताए ।
यस्तै, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले भाग लिने पाउने छन् ।
त्यस्तै बैठकले विधान महाधिवेशनमा पास हुने तीन प्रतिवेदन पारित गरेको छ । राजनीतिक अध्यक्षले, संगठनसम्बन्धी प्रस्ताव महासचिवले र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित पास गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार