नेपालमा स्थायी सरकार नभएका कारण नेपालको विकास हुन नसकेको भन्दै चर्का नारा लगाउँदै आएका नेपालका ठूला राजनीतिक दलहरु अहिले एक आपसमा आरोप प्रत्यारोपमा उत्रेका छन् । खरो रुपमा आरोप प्रत्यारोपमा उत्रेका दलहरु मध्ये बिशेष गरेर तत्कालिन कम्यूनिष्ट गठबन्धन सरकार रहेको छ ।
लामो सोच राखेर पार्टी एकीकरण भएको भन्दै कुर्लिएका तत्कालिन माओवादी र एमाले अहिले तीन चिरामा परेका छन् । एकले अर्कोलाई सत्तोसराप गर्ने काम भइरहेको छ । माधव नेपालले त नयाँ पार्टी नै गठन गरेर काम सुरु गरीसकेका छन् ।
नेकपाबाट बिछोड भएका माओवादी र अहिलेको नेकपा एस पार्टीले नेपाली काँग्रेसलाई सरकार प्रमुखको जिम्मेवारी दिएर पाँच दलिय नयाँ गठबन्धन नेपालमा देखिएको छ ।
केही समय अघि प्रधानमन्त्री के.पि. शर्मा ओलिले ४० प्रतिशत संसद सदस्य र कमिटीको बिषय राखेर दल बिभाजन सम्वन्धी अध्यादेश ल्याउँदा निकै चर्को बिरोध भयो । माधव नेपाल समूह, प्रचण्ड र अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवाले चर्को बिरोध गरेपछि तत्कालिन प्रधानमन्त्री के.पि. शर्मा ओलिले अध्यादेश फिर्ता लिनुपर्ने अवस्था आयो ।
जसले चर्को बिरोध गरे उनिहरुकै गठबन्धनमा निर्माण भएको सरकारले अहिले २० प्रतिशत सदस्यमै दल बिभाजन गर्न मिल्ने भन्दै अध्यादेश ल्याए, पारित गराए, एमाले फुटाए र पुनः अध्यादेश निस्क्रिय बनाउन निर्णय समेत गरेका छन् ।
यसरी नेपालको राजनीति अहिले एकले अर्कोलाई कसरी सक्ने भन्ने फोहोरी खेलमा परिणत भएको छ । यसले पक्कैपनि सबै दलहरुलाई दुरगामी असर पार्ने निश्चित छ ।
वर्तमान सरकार गन्तब्य बिहिन जस्तै बनेको छ । जनताका सवाहरुको बारेमा कुनैपनि बिषयमा सरकार केन्द्रीत छैन्, केन्द्रीत छ त सत्ता कसरी जोगाउने, आफ्ना मान्छेलाई कसरी नियुक्ति दिने यस्तो प्रवृती नेपालमा देखिनु पक्कै पनि नेपालको आर्थिक विकास, दिगो विकास, राष्ट्रिय सुरक्षाका लागि पनि राम्रो देखिएको छैन् ।








