दैलेखः बालविवाह गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाल्नेका २३ वर्षीय भक्तिराम कँडेललाई दैलेख जिल्ला अदालतले ६ महिना कैद र पाँच हजार जरिवाना तोकेको छ ।
१५ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गरेको कसूरमा आइतवार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । ०७८ कात्तिक २६ गते सुर्खेतबाट ती बालिकालाई ललाई फकाई बालविवाह गरेको भन्दै दैलेख जिल्ला अदालतमा मुद्दा पेश भएकै दिन आइतवार सजाय भएको हो ।
बालिकालाई ३ महिना कैद र २५ सय रुपैंयाँ जरिवाना तोकिए पनि उनी आफै अन्जान भएको कारण सुध्रिने मौका सहित हाललाई सजाय स्थघन गरेर अभिभावकसंग बस्न पाउने फैसला भएको छ ।
बालविवाह भएको एक सातामा बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको जाहेरीपछि प्रहरीले गरेको अनुसन्धान आधारमा जिल्ला सरकारी वकील कार्यालयले बिहीवार दैलेख जिल्ला अदालतमा बालविवाह कसूरमा अभियोग पेश गरेको थियो । अभियोग सम्वन्धमा आइतवार बसेको बाल इजलासमा भएको थुनछेक बहसपछि न्यायाधीश लामिछानेले सो फैसला सुनाएका हुन् ।









