
पुस १७, दैलेख
दैलेखको नारायण नगरपालिका वडा नं. ७ चौशीलकी रबिना बि.क. अहिले पुरानै घर फर्किएकी छन् । उनीसँगै उत्पादन नभएको भन्दै जमिन बाँझो छोडेर बसाई सरेका १० घर परिवार पुनः घर फर्केका छन् ।
दैलेखका विभिन्न क्षेत्रमा जमिन बाँझो छोड्ने प्रचलन बढ्दै गएको छ । सहजै कमाई गर्ने प्रचलन बढ्दै जानु, धेरै दुःख गरेर भन्दा कम दुःख गरेर आम्दानी गर्ने प्रचलन बढ्नु, कामको खोजीमा भारत लगायत अन्य मुलुकहरूमा जाने प्रचलन बढ्नुले गाउँघरमा युवाहरूको उपस्थिति न्यून भएसँगै परम्परागत रूपमा मकै, धान, कोदो, लगाउने जमिनहरू बाँझो छोड्ने प्रचलन बढेको हो ।
दैलेखको नारायण नगरपालिका वडा नं. ७ चौशील बाँझो रहेको ३ हजार हेक्टर जमिन सदुपयोगको अभियान थालिएको ३ वर्ष भयो । तीन वर्ष अघि सिँचाइ अभावले उत्पादन नभएको भन्दै बसाई सरेका चौशीलका १० घर परिवार अहिले पुनः घर फर्केको र तरकारी उत्पादनबाट मात्रै ४० हजार आम्दानी गरेको रबिना बि.क.ले जानकारी दिएकी छन् । चार वर्षदेखि बाँझो छोडेको जमिनमा सिँचाइ सुविधा पुगेपछि छोडेर गएको बाँझो जमिनमा फलफूल खेती र तरकारी उत्पादन सुरु गरिएको छ ।
तरकारी र फलफूल खेतीको राम्रो सम्भावना भएको चौशीलको जमिन बाँझो देखेपछि, वडा नं. ७ का वडा अध्यक्ष पूर्ण बहादुर मल्ल, कृषि विकास कार्यालय, नारायण नगरपालिका र प्रदेश सरकारको साझेदारीमा आएको रकमले यो क्षेत्रको अध्ययन गरेपश्चात् काम सुरु गरिएको थियो ।

नारायण नगरपालिकाले यो क्षेत्रलाई फलफूल पकेट क्षेत्र बिस्तार गर्ने अभियान सुरु गरेपछि यहाँ सिचाई सुविधा उपलब्ध भयो, किसानलाई फलफूल बिरुवा वितरण अभियान सुरु भयो, अन्तर बालीसमेत किसानहरूले लगाउन सुरु गरेपछि अहिले यहाँ हरियाली बढेको र किसानहरूले आम्दानी लिन सुरु गरिसकेको नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिएका छन् ।
बाँझो जमिन देखेपछि यसको सदुपयोग गर्ने बारेमा कृषि शाखाका प्रमुख सहित आफुपनि किसानसँग भलाकुसारी गरेको, बस्तीमा आवश्यक पर्ने सबै कुराहरूको व्यवस्थापन मिलाएसँगै सामूहिक फलफूल पकेट क्षेत्र बिस्तारमा सबैले सहमति जनाएपछि काम सुरु गरिएको तीन वर्षमा प्रतिफल प्राप्त भएपछि आफूलाई समेत निकै गौरव महसुस भएको वडा नं. ७ का वडा अध्यक्ष पूर्ण बहादुर मल्लले जानकारी दिएका छन् ।
विगत तीन वर्षदेखि यो स्थानमा आँप र लिचीका ८ सय बढी बिरुवाहरू रोपिएको थियो, घेरावरको समस्या र अन्य समस्याले केही बिरुवाहरू मरेको भए पनि हरेक वर्ष मरेका बिरुवाको स्थानमा पुनः बिरुवा रोपण अभियान निरन्तर चलाई रहेको नारायण नगरपालिका कृषि शाखा प्रमुख खेमराज शर्माले जानकारी दिएका छन् ।
नगरपालिका भित्रका अधिकांश बाँझो जमिनको सदुपयोग गर्नेबारे हामीले अध्ययन गरेर नगरपालिकासँग समन्वय गरेका छौँ, अन्य स्थानहरूमा पनि नगरपालिकाले प्याकेजमा कार्यक्रम सञ्चालन गर्ने र किसानहरूलाई आर्थिक उर्पाजनसँग जोड्ने अभियान सुरु गरिएको शर्माले जानकारी दिएका छन् ।

सिँचाइ सुविधा भएपछि तरकारी सँगै अन्य बाली उत्पादन निकै बढेको छ । उत्पादनयोग्य जमिनहरू दिनप्रतिदिन बाँझो राख्ने प्रचलन बढ्दै गएका बेलामा बाँझो जमिन सदुपयोग अभियानले किसानहरूको आर्थिक अवस्था सुधारमा टेवा पुग्न सक्ने देखिन्छ ।









