कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट पुनः व्यापक रुपमा फैलने क्रम बढेको छ । निकै धेरै संक्रामक भएकोले यो सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने क्रम पनि बढेको छ ।
कोरोना रोकथामका लागि प्रभावकारी खोपको व्यवस्थापन सँगै पछिल्लो भेरियन्टको संक्रमण धमाधम बढीरहेको छ । दैलेखको महत्वपूर्ण कार्यालय जिल्ला प्रशासनले समेत एक साताका लागि सेवा बन्द गरेको छ । काम गर्ने कर्मचारीहरुलाई नै कोरोना संक्रमण धमाधम देखिन थालेपछि दैलेखका सरकारी कार्यालयहरु पनि बन्द भएका छन् । संक्रमणको दर न्यून गर्नका लागि आम नागरिकहरुले प्रभावकारी रुपमा सुरक्षा सर्तकताका कामहरु गर्नुपर्ने आवश्यकता बढेको छ । अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, हात धुने, सेनिटाइजर प्रयोग गर्ने लगायतका कामहरुमा सजकता अपनाउन सके यो संक्रमणबाट जोगिन सकिन्छ भने खोप नलगाएका व्यक्तिहरुले धमाधम खोप लगाउन सुरु गरेको खण्डमा जोखिम धेरै मात्रामा कम हुने देखिएको छ ।
जिल्लाका ११ वटै पालिकाहरुले पछिल्लो भेरियन्टका बारेमा प्रभावकारी सुचना प्रवाह सँगै खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ । बृद्ध बृद्धाहरुलाई बुस्टर खोप र १२ बर्ष भन्दा माथिका बालवालिकाहरुलाई अनिवार्य खोपका लागि सम्वन्धित पालिका र स्वास्थ्य संस्थाहरुले पहल गर्नुपर्ने देखिएको छ । अहिलेपनि दुर्गमका कतिपय बासिन्दाहरुले खोप लगाउन सकेको अवस्था छैन् यस्ता बिषयहरुमा पनि स्थानीय सरकारले प्रभावकारी परिचालन गर्नुपर्ने देखिएको छ । आम नागरिकले पालना गर्नुपर्ने स्वास्थ्यका मापदण्डहरु पालना गर्न सकेको खण्डमा कोरोना संक्रमणको जोखिम कम हुने देखिन्छ ।




