नेपालमा संघीय व्यवस्था सञ्चालन भएको पाँच वर्ष मात्रै पूरा भएको छ । स्थानीय सरकारलाई अधिकार प्रदान गरेर गाउँमै सिंहदरवारको परिकल्पना गरिएको पहिलो पाँच वर्षको अवधि पूरा भएको छ । केही दिन भित्र चुनाव हुने पक्का जस्तै भएको छ । अहिले पाँच वर्षको अवधिको कामको समिक्षा सँगै बिभिन्न राजनीतिक दलहरुले उम्मेदवार छान्ने कसरत तीब्र पारेका छन् ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन हो । निश्पक्ष रुपमा निर्वाचन गराउने र जनताले आफ्नो मतको प्रयोग गरेर बढी मत प्राप्त गर्ने व्यक्ति बिजयी हुने र बिजयी व्यक्तिले पाँच वर्ष सम्म स्थानीय तहको सरकारको प्रतिनिधित्व गर्न पाउने कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति तोकिएसँगै निर्वाचनका लागि आवश्यक सवैखाले पुर्वाधारहरु तयार भइसकेका छन् ।
निर्वाचन आयोगले निर्वाचनलाई धाँधली रहित र स्वच्छ निर्वाचनका लागि आम राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेको छ । जनताले जनताका लागि जनताद्धारा गरिने शासन व्यवस्थालाई प्रजातन्त्र भनिन्छ र प्रजातन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको निर्वाचन हो । निर्वाचनमा आफ्नो मत जाहेर गर्न पाउने संविधानीक अधिकार जनताको हो । जनताले राम्रो व्यक्ति रोज्न पाउने, दल रोज्न पाउने आफ्नो अधिकारको प्रयोग गरेर देश र जनताका लागि काम गरेका व्यक्तिहरुलाई चुन्न पाउने अधिकारको प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण दिन हो मतदानको दिन उक्त दिन नजिकिदै गर्दा नेपालमा पनि बिभिन्न पार्टीहरुवीच गठजोडका बिषयहरु पनि चर्चामा आएका छन् । वर्तमान सरकार सञ्चालन गरिरहेको पाँचदलिय गठबन्धन सँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र एमालेसँगै पनि अन्य सानादहरु मिलेर चुनाव लड्ने बिषयहरुको चर्चा पनि चुलिएको छ । मताधिकारको स्वतन्त्र प्रयोग गर्ने बिषयलाई सबैले गम्भिरताका साथ लिनुपर्ने र जनतालाई भयरहित बातावरणमा मतदान गर्न पाउने अधिकारको सवैले रक्षा गरेर निर्वाचन निश्पक्ष रुपमा सम्पन्न गर्नु सवैको दायित्व हो ।








