स्थानीय तहको पाँच वर्ष बितिसकेको छ । पाँच वर्षको अवधिमा हरेक पालिकाहरुले आर्थिक समृद्धिका आधारहरु तयार गर्ने बिभिन्न माध्यमहरु मध्येको महत्वपूर्ण माध्यमको रुपमा रहेको पर्यटन प्रर्वद्धनका लागि भने ठोस योजनाहरु ल्याउन सकेको देखिदैन्, पर्यटन प्रर्वद्धन मुलुकको आर्थिक अवस्था सुधारको पाटो हो । पछिल्ला दिनहरुमा देशमा देखिएको आर्थिक संकटसँगै पर्यटन क्षेत्र समेत धरासायी बनेको अवस्था विद्यमान छ तरपनि दैलेख ऐतिहासिका महत्वको जिल्ला भएकोले यहाँको पर्यटन प्रर्वद्धनका लागि पालिकाहरुले केही नगरेका होइनन् तर ठोस योजना निर्माण गरेर लागू भने गर्न नसकेको अवस्था अहिलेपनि कायमै रहेको छ ।
आज र भोलीसम्म स्थानीय सरकारहरुले नयाँ आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारी छ । मुख्य गरि यसपालिको नीति तथा कार्यक्रम मुलुकमा देखिएको मूल्य बृद्धि, चरम आर्थिक संकट समाधान गर्ने तर्फ हुनुपर्ने पहिलो दायित्व हो भने अर्कोतर्फ पर्यटन प्रर्वद्धनका लागि स्थानीय सरकारले नीति निर्माण गरेर प्रदेश र केन्द्र सरकारसँग ठोस योजना ल्याउने तयारी थाल्नुपर्ने आवश्यकता देखिएको छ ।
अहिले नेपालमा मूल्यबृद्धिले चरम सिमा नाघेको छ । अव हरेक पालिकाहरुले आ–आफ्ना उत्पादन क्षेत्रका रुपमा रहेका स्थानहरुको तत्काल वर्गिकरण गरेर सामुहिक तरकारी खेती, पशुपालन लगायतका क्षेत्रमा काम गर्नेगरी बजेट तयारी गर्नुपर्ने देखिएको छ ।
बाँझो जमिनहरुलाई केही वर्षका लागि स्थानीय सरकारले लिजमा लगेर उत्पादनका क्षेत्रहरु बिस्तार गर्नुपर्ने आवश्यकता पनि उत्तिकै देखिएको छ । यस्ता बिषयहरुमा चासो दिनुपर्ने अहिलेको आवश्यकता हो ।








