भदौ ३ : दैलेखको नारायण नगरपालिका भित्र रहेका ३८ वटा विद्यालयमा शैशिक सुधार अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत प्रारम्भिक वालविकासलाई बिशेष जोड दिने भएको छ ।
नारायण नगरपालिका र सेतो गुराँस बाल विकास सेवा दैलेखको संयुक्त साझेदारीमा यो अभियान थालनी गरिएको हो । अभियान अन्तर्गत नगरपालिका भित्रका ३८ जना वाल शिक्षक, ३८ जना प्र.अ., र ३८ जना कक्षा १ का कक्षा शिक्षकहरुलाई आवासिय तालिम प्रदान गरिएको छ ।
अहिले तेस्रो चरण अन्तर्गत कक्षा १ का शिक्षकलाई तालिम सुरु गरिएको छ ।
नगरपालिका भित्रको समग्र शैक्षिक स्तरको सुधार गर्ने अभिप्रायसँगै विशेष गरेर बालबालिकाहरुलाई पोषणयुक्त आहार, विद्यालयको भौतिक संरचनामा प्रभावकारीता, कक्षा कोठाको व्यवस्थापन, शिक्षा सँगै स्वास्थ्य बृद्धि अभियान थालिएको हो ।
गर्भअवस्था देखि जन्मेको ८ वर्षसम्म हरेक बालबालिकाहरुको मस्तिष्क विकास हुने भएकोले यो उमेर समूहका बालबालिकाहरुमा पोषणयुक्त आहार, उचित शैक्षिक वातावरणको प्रवन्ध गर्नका लागि पहिलो चरणमा आवासिय तालिमको सुरुवात गरिएको छ ।
प्रारम्भिक बालविकास शिक्षकहरूका लागि आधारभूत प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड सम्बन्धी अहिले कक्षा शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ ।
नारायण नगरपालिकाले नगरपालिका भित्रको समग्र शैक्षिक क्षेत्र सुधार सँगै बालबालिकाहरुको शैक्षक स्तर सुधारका लागि बिशेष पहल गर्ने तयारी थालेको नगर प्रमुख लोमन शर्माले जानकारी दिएका छन् ।
जन्मपश्चात ‘बालबालिकाको दोस्रो पाठशाला बालविकास केन्द्र हुने भएकोले बालविकास केन्द्रमा रहेका शिक्षकहरुलाई कसरी बालमैत्री शैक्षिक अभियानको थालनी गर्ने भन्ने बिषयहरु तालिममा जानकारी गराईएको सेतो गुराँस बालविकास सेवा दैलेखका निर्देशक राधा मल्लले बताईन् ।
कक्षा शिक्षकहरुलाई प्रदान गर्ने तालिमका लागि यूनिसेफ नेपालका डा. दिपु शाक्य, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुरका तालिम संयोजक शशि बि.सी. लगायतले प्रशिक्षण प्रदान गरिरहेका छन् । कक्षा शिक्षकहरुको तालिम उद्घाटनका लागि अध्यक्ष गिता रम्तेलको अध्यक्षतामा तालिम सुरुवात गरिएको थियो ।