निर्वाचनको मिति नजिकिएसँगै प्रचार प्रसारले तीव्रता पाएको छ । १७ गते सम्म घरदैलो भेटघाटमा शान्त रहेका जिल्लाहरुमा अहिले माहोल तातिएको महसुस भएको छ । अँझैपनि कतिपय खेतवारीमा व्यस्त किसानहरुलाई फुर्सद भने भएको देखिदैन् ।
सभा र जुलुसको अभियान सुरु भएसँगै माहोल तातिएको छ । निर्वाचन आयोगले आचारसहिंतालाई कडाईका साथ अनुगमन गरिरहेको अवस्था देखिएको भएपनि यस अघिको स्थानीय निर्वाचनमा दैलेखमा आचारसहिंता अनुगमन गर्ने जिम्मेवारी पाएका निकायमध्येका केहीले अनुगमनमा पक्षपातिपूर्ण व्यवहार प्रदर्शन गरेको देखिएको थियो ।
आसन्न मंसिर ३ गते सम्पन्न हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समय नजिकिदै गर्दा पनि त्यस्ता गतिविधिहरु देखिन सक्ने सम्भावना बढेको छ । हेराई फरक हैन सत्य कुरा हेर्नुपर्ने विषयलाई जिम्मेवार निकायहरुले स्वतन्त्र हेराई गर्नुपर्ने देखिन्छ ।
कतिपय सुपरीवेक्षण गरेका निकायहरुले आफ्ना नजिकका, पार्टी निकटकाले गरेको आचारसहिंता उलंघनलाई आँखा चिम्लने र अरुले गरेको सानो गल्तिलाई पनि ठूलो देख्ने गरेको बिषय यसपालिका दोहोरिनु हुँदैन् ।
सञ्चार माध्यमहरुको अनुगमन गर्नेहरुले पनि आफ्नो पक्षले जे गरेपनि हुने र अरु पक्षको मात्रै खोजी गर्ने प्रचलनको अन्त्य हुनुपर्दछ । मन्त्रीले झण्डा हल्लाउँदै निर्वाचन प्रचारमा गएको नदेख्ने र फरक विचार भएका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले घरदैलोमा पुगेको देख्ने अनुगमनकारीहरुले पहिला आफु निष्पक्ष कसरी हुन सकिन्छ भन्ने तर्फ ख्याल गर्नुपर्ने देखिएको छ । सवै जिम्मेवार निकायहरु निष्पक्ष बनौं सवै निश्पक्ष हुन्छ ।








