दैलेख : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार दैलेखका ६१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।
कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला कारागार दैलेखका जेलर जितबहादुर खत्रीले बताए । उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउने छन् । दैलेख कारागारमा १ सय ४१ जना कैदीबन्दी रहेका छन् । जस मध्ये पुरुष १ सय २४ र महिला १७ जना रहेका छन् ।
११ वटा स्थानीय तह ९० वडा रहेको दैलेखमा ३ हजार २ सय ७ जना अस्थायी मतदाता रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले बताइन् ।
कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा चार जना कर्मचारी खटिने जनाइएको छ । दैलेखका ११ स्थानीय तहमा जिल्लाभर १ सय ३९ मतदान स्थल र २ सय ७ मतदान केन्द्र रहेका छन् ।
निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ । मतपत्र र निर्वाचन सामग्री जिल्ला पुगिसकेका छन् । निर्वाचनमा खटिने आवश्यक जनशक्तिलाई तालिम दिने क्रम जारी रहेको र केही दिनपछि खटाइने जनाइएको छ ।
निर्वाचनको मिति आउन १३ बाँकी रहँदा यहाँका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार कार्यलाई तीव्रता दिएका छन् । दैलेखमा प्रतिनिधिसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेका छन् ।
दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा गरी ६ पदका लागि दैलेखमा ३३ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधि सभातर्फ दैलेख–१ मा ८ जना चुनावी मैदानमा छन् भने दुई प्रदेशसभामा पाँच÷पाँच जना गरी दश जना चुनावी मैदानमा होमिएका छन् ।
यस्तै, दैलेख–२ मा प्रतिनिधि सभातर्फ पाँच जना चुनावी मैदानमा छन् भने दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यहाँ दश जना चुनावी मैदानमा छन् । प्रदेशसभा (क) मा ६ जना र प्रदेश (ख) मा ४ जना चुनावी मैदानमा रहेका छन् ।









