दैलेख : स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिव ६ महिना पूरा हँुदै छ । तीन तहका सरकार मध्ये जनताका घर आगन नजिकका मानिने स्थानीय सरकारको प्रमुख दायित्व भनेको दुर्गमका जनताका साना–साना समस्यालाई समाधान गर्दै ठूला विकासमा ध्यान दिनुपर्ने मुख्य दायित्व हो ।
संघीयता पछि बनेका गाउँका सरकारको मुख्य भूमिका भनेको स्थानीय स्तरका जनताको चाहना अनुसार कार्य गर्नु हो । तीन तहका सरकार मध्ये स्थानीय सरकार जनताको नजिकको सरकार मानिने भएकाले गाउँका सरकारले जनताका साझा समस्याहरुको बारेमा ध्यान दिन सके यसको प्रभावकारिता देखिन्छ ।
दोस्रो पटकको निर्वाचन पछि पनि जनताले त्यस्तै आशा र भरोसाहरु गरिरहेका छन् । ०७४ मा सम्पन्न स्थानीय तहको पाँच वर्षको कार्यकालमा प्रभावकारी कामहरु सुरुवात भएको भएपनि प्रत्यक्ष प्रभाव नदेखिएको बिषय चर्चामा छ । निर्वाचित जनप्रतिनिधि र केन्द्रमा बिभिन्न समयमा मन्त्री बनेका नेताहरुले पनि आफन्तहरुलाई नै धेरैजसो कामहरु दिएको, विकास भन्दा आफ्ना नजिककालाई पोस्ने गरेको गुनासो अहिलेका जनप्रतिनिधिहरुले चिर्नुपर्ने आवश्यकता छ ।
चुनावका बेलामा गरिएका बाचाहरु पूरा कसरी गर्न सकिन्छ भन्नेतर्फ जनप्रतिनिधिहरुको ध्यानमात्र पुग्न सकेमा धेरै कुराहरुमा सहजता हुने देखिन्छ । दैलेखको नारायण नगरपालिकाले चुनावमा बेलामा गरेका बाचाहरु पूरा गर्ने अभियानलाई प्राथमिकता दिएको छ ।
गाउँको विकास र जनताका समस्यामा ध्यान दिदै आएको यहाँको नारायण नगरपालिकाले स्थानीय तहको निर्वाचनताका नागरिकमा गरिएका बाचा अनुसार खानेपानीमा शुल्क मिनाहादेखि नागरिकका गुनासा सुन्नका लागि टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको छ । वडा वडामा पुगेर जेष्ठ नागरिकहरुलाई घरदैलोमै उपचार सेवा प्रदान गरेपछि जनताको पक्षमा काम सुरु भएको प्रतिक्रिया जनताबाटै आएको छ ।
स्थानीय तहको निर्वाचनका बेला जनता सामु गरिएका बाचा अनुसार नारायणको विकासमा पछि नहट्ने नगरप्रमुख शर्माको भनाई छ । उनले भने, ‘आफुले निर्वाचन ताका खानेपानीमा न्यूनतम शुल्क मिनाहदेखि जनताका गुनासा सुन्न टोलफ्रि नम्बरको व्यवस्था, घरदैलोमै उपचार सेवा लगायतका धेरै बिषयहरुमा जनतालाई बाचा गरे अनुसारका कामको सुरुवात गरेको बताए ।
विकास निर्माणमा पारदर्शीता अभियान थाल्ने तयारीमा छौं, जनतासँग गुनासो सुन्दै समाधानको उपायको खोजी गर्न टोल फ्री नम्बर सञ्चालनमा ल्याएको शर्माले बताए ।
धेरै समस्याहरु छन् । सदरमुकाम बजारलाई सुन्दर बनाउन यसपाली बजेट बिनियोजन गरेर काम सुरु गर्ने तयारीमा छौं, स्थानीय देवकोटा चौक फराकिलो बनाउने कुरा अन्तिम टुँगोमा पुग्ने तयारी छ । नगरको विकास र समृद्धिका लागि जनता जागरुक हुनुपर्ने आवश्यकता छ, विकास जसले दिएपनि त्यहाँको विकास राम्रो बनाउने, पारदर्शी र दिगो बनाउनका लागि जनताको खवरदारी बढ्नुपर्ने नगर प्रमुख शर्माको भनाई छ ।
नगरपालिका भित्रका विपन्न नागरिकलाई खानेपानीमा शुल्क महंगो भएको विषयलाई ध्यान दिदै चुनावका बेला हामीले निःशुल्क खानेपानी उपलब्ध गराउने बिषय उठाउँदा धेरैले नहुने कुरा भन्नुहुन्थ्यो अहिले मिनाहानै गरेपछि जनतामा भरोसा पलाएको छ । ‘स्थानीय सरकारले जनताको चाहना अनुसार काम गर्नुपर्ने बुझेका छौं, नारायण नगरपालिका जनताको हित विपरित काम गर्दैन्’, नगर प्रमुख शर्माले भने ।
उनले नारायण नगरपालिकाले जनताका समस्या सुन्नका लागि १६६०८९१११३५ नम्बरको टोल फ्री नम्बर संचालनमा ल्याएको बताउँदै नगरपालिका भित्र पर्ने ११ वटा वडाका आम नागरिकले स्थानीय सरकार प्रति भएका गुनासा टिपाउन अनुरोध गर्दै तत्काल समस्या समाधानमा आफ्नो सक्रियता बढ्ने बताएका छन् ।









