दैलेख : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८ सय ७ सुरक्षा जनशक्ति परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार मतदानस्थलमा पाँच हजार ७ सय २९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी खटाइएको छ । ‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ’, उनले भने,‘प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाएका छौँ ।’
प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतका जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था मिलाएको उनले नजनाकारी दिए ।
‘माथिल्लो कर्णालीका जिल्लामा अब हिमपात पनि सुरु भइसकेको छ’, उनले भने, ‘यस्तो अवस्थामा हामीले मतपेटिका ढुवानी तथा अन्य सामग्री ओसारपसारका लागि हेलिकप्टरको प्रबन्ध पनि गरेका छौँ ।’ कर्णालीमा सुरक्षाका दृष्टिकोणले २ सय भन्दा धेरै मतदानस्थल अति सम्वेदनशील मानिएका छन् ।
प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि २ सय ६७ मतदानस्थल अति सम्वेदनशील रहेका हुन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा आवश्यक तयारीलाई तीव्र पारिएको छ । प्रदेशका विभिन्न जिल्लास्थित निर्वाचन कार्यालय निर्वाचन पूर्वका काममा जुटेका छन् । कर्णालीमा १० लाखभन्दा बढी मतदाता रहेका छन् ।









