काठमाण्डौँ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।
उनले बिहीबार एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो । जाहाँनिया राणा शासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको चरण पूरा गरिसकेको छ । अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने छ ।’









