नेपाल यसै पनि विभिन्न विषयमा पछाडि परेको मुलुक भन्दै यो वा त्यो बहानामा नेपाललाई झन् परनिर्भरता तर्फ धकेल्ने प्रयासहरू पहिल्यैदेखि भइरहेका छन् ।
नेपाल आफै सम्पन्न मुलुक भएको खण्डमा त्यसले अन्य मुलुकहरूको भित्री मिसन पुरा गर्न सकिँदैन भन्ने अभिप्रायले अहिले पनि नेपालमा राजनीतिक अस्थिरता पैदा गर्ने काम निरन्तर चलिरहेको छ ।
भ्रष्टाचार नेपालमा बढ्दै गएको सन्दर्भलाई हेर्ने हो भने यसको मुख्य जिम्मेवारी नेपालका राजनीतिक दल र सरकार सञ्चालनमा रहेका निकायहरूकै नै बढी हात देखिएको छ । राजनीतिक दलहरूले निर्माण गर्ने नीतिहरू प्रभावकारी रूपमा निर्माण गर्न नसक्नुले पनि नेपालमा भ्रष्टाचार बढ्दै गएको हो । मेरो मान्छे वा मेरो पार्टीको मान्छे भनेर गल्ती गर्नेहरूलाई सजाय दिलाउनको साटो संरक्षण गर्ने प्रवृत्ति बढ्दै जानु सबैभन्दा ठुलो समस्या हो । अहिले पनि ठुला ठुला ठेक्काहरू राज्य सञ्चालनको जिम्मेवारी पाएकाहरूले आफन्तहरू मात्र प्रधान गर्ने, निष्पक्ष छनौट प्रक्रिया नहुने, सूचना प्रकाशन देखिनै भ्रष्टाचारको विषय जोडिने भएका कारण नेपालमा अनियमितता र भ्रष्टाचार बढ्दै गएको हो ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको मनाइरहँदा सरकार प्रमुखले नै भ्रष्टाचार नियन्त्रण चुनौती रहेको भन्नु राम्रो विषय हैन, जो व्यक्ति नियन्त्रण गर्ने स्थानमा छ उसैले नै निराशाको कुरा गर्ने हो कि ? नियन्त्रणका लागि गरिएका प्रयासहरूको बारेमा कुरा उठाउने हो ?
भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रको सक्रियता अनिवार्य हो तर स्पष्ट नीति निर्माण गरेर कडा भन्दा कडा तरिकाले नीतिको कार्यान्वयन गर्न सकेको खण्डमा मात्र भ्रष्टाचार नियन्त्रण हुन सक्छ । सबैभन्दा पहिला निर्वाचित जनप्रतिनिधिहरूले हामी एक रुपैयाँ पनि भ्रष्टाचार गर्दैनौँ भनेर सामूहिक रूपमा प्रतिबद्धता गर्नुपर्ने आवश्यकता देखिएको छ ।
समाजको कलङ्कको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यका विरुद्धमा आवाज मुखरित गरी सदाचार कायम गर्नु सबैको दायित्व हो ।








