दैलेख : खोलको तिरमा गुन्योको ढोकाले निर्माण गरिएको झुपडी छ, पुसको चिसो ढाक्ने एउटा त्रिपाल छानो माथि लगाइएको छ, चिसो सिरेटोमा रात काट्दा निकै दुःख झेल्नुपरेको रामाघाट बजारको बादी बस्तीको यति वेला बिचल्ली परेको छ ।
कर्णाली राजमार्गको रामाघाट बजार नजिक कर्णाली नदी किनारामा त्रिपालको भरमा १७ घर बादी समुदायहरू अहिले पनि बसोबास गरिरहेका छन् ।
दिनदिनै चिसो बढेका कारण वस्तिमा रहेका बालबालिका, वृद्ध र युवाहरू समेत समस्यामा परेका छन् । विगत दुई महिनादेखि त्रिपालको भरमै बस्नुपर्ने बाध्यता भएपछि उचित स्थानमा बस्ती स्थानतरण गरिदिन बादी समुदायले माग गरेका छन् ।
गत वर्ष आठवीस नगरपालिकाले जनता आवास अन्तर्गत बादी समुदायको सुरक्षित वासस्थानका लागि घर निर्माण गरिदिएको भए पनि । गत असोजमा आएको अविरल वर्षा सँगै सडक माथिको पहिरोले बस्ती जोखिममा परेपछि उनीहरू विस्थापित भएका हुन् ।
विस्थापित जीवन बिताएका धिरेन बादी भन्छन् स्थानीय पालिका सरकारले हामीलाई राम्रै व्यवस्थापन गर्ने प्रयास गरेको थियो, घर निर्माण गरिदिएको थियो तर बर्सातले निर्माण गरिएको घरमाथिबाट पहिरो झर्र्यो, दुई महिनादेखि कर्णाली किनारमा पालको सहारामा बसिरहेका छौँ ।
चिसोका कारण महिला, वृद्ध र बालबालिकाहरूलाई समस्या बढेको छ । सरकारले उचित स्थानमा बसोबासको व्यवस्था मिलाईदिनुपर्दछ । धीरेन बादीले गुनासो गरे ।
विगत २६ वर्षदेखि आठवीस नगरपालिका १ रामाघाटमा बसोबास गर्दै आएका बादी समुदायहरू दैनिक आउने सवारी साधनहरूमा सामान ओसार पसार गरेर गुजारा चलाउँदै आएका छन् ।
बस्ती माथिबाट आएको पहिरोको जोखिम अहिले पनि कायमै रहेको छ । रामाघाट बजार समेत पहिरोको उच्च जोखिममा रहेको छ ।
चिसो मौसम सुरु भई सक्दा पनि अहिले एउटा पालको भरमा यो वस्तिका बासिन्दाहरू चिसोमा कठ्याङ्ग्रिएर बस्नुपर्ने बाध्यतामा छन् ।
कर्णाली राजमार्ग नजिकै रामाघाटमा बसोबास गर्ने करिब १ सय बढी परिवारहरू समस्यामा छन् ।









