घुम्ती शिवरबाटै योजना सम्झौता

दैलेख: दैलेखको गुराँस गाउँपालिकाका जनताको सहजताका लागि गुराँस गाउँपालिकाले उपभोक्ता समिति निर्माण गर्न घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।
स्थानीय तहमा गरिने विकासे कामका योजना आयोजनाहरूको सम्झौता गर्न उपभोक्ताहरूलाई गाउँपालिकाका कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित गर्न यस्तो निर्णय गरेको हो । गाउँपालिकाले वडागत हिसाबले घुम्ती शिविरहरू सञ्चालन गर्दै नागरिकका समस्या समाधान गर्ने भएको हो ।
मङ्गलवार गाउँपालिका–७ मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीको टोलीले उपभोक्ता समितिसँग योजनाको सम्झौता गरेको छ ।
वडामै योजनाको सम्झौता गरेपछि गाउँपालिकाको केन्द्र रानीमत्ता पुग्दा लाग्ने खर्च जोगिएको छ । समय बचत भएको छ । जनतालाई साना काममा धेरै बोझ हुने विषयलाई मध्यनजर गर्दै यस्तो काम थालिएको गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले बताए । पुस ७ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार, श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने नाराको साथ चालू आर्थिक वर्षका स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतका योजना सम्झौता गर्न वडाहरूमा घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सी.ले जानकारी दिएका छन् । यसले जनताको विकासमा अपनत्व हुने र विकासका नाममा हुने विभिन्न समस्याहरू समाधानमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार