दैलेख : दैलेखको पञ्चकोशी क्षेत्रमा सदियौंदेखि निरन्तर बलिरहेको ज्वालाको कालो ‘तिलक’ भारतीय पर्यटकहरुको रोजाईमा परेको छ । पश्चिम नेपालको पर्यटकीय गन्तब्य प्रचारका लागि नेपालगञ्जमा गरिएको वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करणका लागि नेपालगञ्ज आएका भारतीय पर्यटकहरुको रोजाईमा दैलेखको ‘तिलक’ परेको हो ।
दैलेखको नारायण नगरपालिकाले दैलेखको शिरिस्थान ज्वालासहित पञ्चकोशी क्षेत्र र नगरपालिका भित्रका ऐतिहासिक पर्यटकीय स्थलहरुको जानकारी दिदै भ्रमणको निम्तो दिन टोलि नै पठाएको थियो । भारतीय पर्यटकहरुले ज्वाला माताका प्रसाद भन्दै तिलक लगाएर र ‘तिलक’ पोको पारेर घरमा पनि लगेका छन् । भारतीय पर्यटकहरु मात्र हैनन् नेपाली पर्यटन व्यवसायिहरुले समेत दैलेख उत्कृष्ट गन्तब्य बन्न सक्ने बारेमा अध्ययन र अवलोकन गरेका छन् ।
टोलिले दैलेखको शिरिस्थान, महावु धाम, नगरपालिका भित्रका पञ्चदेवल, कोतगढी लगायतको बृतचित्र नै निर्माण गरिएको थियो भने शिरिस्थानबाट ज्वालाको ‘तिलक’ लगेर उपस्थिती भएका अधिकांसलाई तिलकको टिका लगाउँदै तिलक समेत वितरण गरेको थियो ।
ट्राभल एजेन्ट एशोसिएसन अफ इन्डिया (टाई) का अध्यक्ष ज्योति मयलले दैलेखको शिरिस्थान लगायत अन्य गन्तब्यको बारेमा जानकारी लिएकी छन् । महत्वपूर्ण यस्ता गन्तब्यहरुको प्रचार नपुगेको र प्रचार प्रसार गर्न आग्रह गरेकी छन् । टोलिमा आएका भारतीय सञ्चारकर्मीहरुले समेत निकै महत्वका साथ दैलेखको पञ्चकोशी क्षेत्र र अन्य क्षेत्रलाई भारतीय पर्यटकीय गन्तब्यको क्षेत्र बनाउन सकिने भन्दै टोलिमा गएका पत्रकार एवं पर्यटनका बारेमा लामो समयदेखि काम गर्दै आएका बिष्णु शर्मासँग सहकार्य गरेर पर्यटन प्रर्वद्धनका काम अघि बढाउने बताएका छन् ।
नारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष एवं प्रवक्ता जनक न्यौपानेले दैलेखको समग्र पर्यटन विकासका लागि ठोस नीति निर्माण गरेर तीनै तहका सरकारको लगानी एकद्धार प्रर्णालीमा ल्याएर भारतीय पर्यटकहरु दैलेख ल्याउने वातावरण तयार गर्नुपर्ने बताए ।
भारतीय पर्यटकलाई दैलेखको बारेमा जानकारी गराउने अभियानमा प्रतिनिधि सभा सदस्य दीपा रुपाखेतीले नारायण नगरपालिका दैलेखका नगर प्रमुखसँग समन्वय गरेर स्टलमा भिडियो डकुमेन्ट्री प्रर्दशन सँगै दैलेखको ऐतिहासिक महत्वका बस्तुहरुको जानकारी गराउने बिषयमा छलफल गरेको थिईन् ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले दुल्लू, नारायण र गुराँस गाउँपालिका मिलेर पर्यटन प्याकेजका कार्यक्रमहरु सञ्चालन भएको खण्डमा दैलेखमा आन्तरिक बाह्य पर्यटनमा उल्लेख्य बृद्धि हुने बताउँदै सोही अनुसार काम गर्ने तयारी भएको बताएका छन् । वेष्टर्न ट्राभल मार्टमा प्रतिनिधि सभा सदस्य डा. धवल समसेर राणा, टाईका अध्यक्ष ज्योति मयलले सहित, नाटाका पदाधिकारी र भारतीय पत्रकारहरुको समेत उपस्थिती भएको थियो ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा नाटा बाँके च्याप्टरले उक्त कार्यक्रमको आयोजना गरेको यो कार्यक्रमले नेपालगञ्ज दिल्लि उडान सफल बनाउन सहयोग पुग्ने र पश्चिम नेपालको पर्यटन विकासमा निकै टेवा पुग्ने बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिएका छन् ।









