नेपालमा मृर्गौला प्रत्यारोपणको बिषयलाई जटिल ठानिएका बेलामा कर्णाली प्रदेशमा पहिलो पटक मृर्गाैला प्रत्यारोपण सफल भएको छ । मृर्गौला प्रत्यारोपण गर्नका लागि बर्षौसम्म काठमाडौं कुर्नुपर्ने र रकम अभावमा मृत्युको मुखमा पुग्न बाध्य भएका कर्णाली प्रदेशका बासिन्दाहरुका लागि यो महत्वपूर्ण अवसर मानिएको भएपनि यसको निरन्तरता र कर्णालीका बासिन्दाहरुले यसको सर्वसुलभ सेवा प्राप्त गर्न पाउनुपर्ने बिषय मुख्य हो ।
मृर्गाैला प्रत्यारोपण प्रक्रिया आफैपनि जटिल हो तर कर्णाली प्रदेश अस्पतालमा भएको सफल प्रत्यारोपणले सिंगो कर्णालीका समस्यामा परेका आम नागरिकहरुका लागि आशाको दियो बालेको छ । केही समय देखावटी हुने र दीर्घकालिन रुपमा कुनैपनि काम नहुने समस्या अहिले हैन उहिल्यै देखि चल्दै आएको छ ।
कर्णाली प्रदेश अस्पतालको यो सफलता दिगो होस आम नागरिकहरुले सहज रुपमा मृर्गौला प्रत्यारोपणको अवसर प्राप्त गरुन भन्ने आम नागरिकहरुको चाहना अनुसार अस्पतालले यस्तो महत्वपूर्ण कार्यलाई निरन्तरता प्रदान गरोस् भन्ने नागरिकहरुको भावना रहेको छ ।
यसैपनि रोग भोक र अशिक्षाले ग्रस्त कर्णालीका धेरै व्यक्तिहरुमा अहिले मृर्गौलाको समस्या बढेको छ । कतिपय नागरिकहरु मृर्गौला डाईलोसिस गर्न नपाएरै मृत्युको मुखमा पुगेका छन् भने कतिपय मृर्गौला दान गर्न तयार हुँदा पनि प्रभावकारी सेवा नपाएर समस्यामा पर्दै आएका छन् ।
कर्णाली प्रदेश सरकारले समेत यस्तो महत्वपूर्ण बिषयलाई प्राथमिकताका साथ अगाडि बढाउँदै यस्ता कामहरुको प्रभावकारीता र निरन्तरताका लागि सहयोग गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
नेपाल सरकारले पनि कर्णाली प्रदेशका नागरिकहरुको स्वास्थ्य सेवाका बारेमा गम्भीर भएर थप प्रभावकारी कामहरुका लागि सहयोग गर्नुपर्ने अहिलेको आवश्यकता हो ।








