कर्णालीका ज्येष्ठ गाउँपालिका अध्यक्ष गुरुङको निधन

दैलेख: कर्णाली प्रदेशकै ज्येष्ठ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएको छ । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका क्रममा निधन भएको हो । उनी ७६ वर्षको उमेरका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि विगत तीन दिन देखि उपचारको क्रममा रहेका गुरुङले दुईदिन स्थानीय मेडिकलमा उपचार गराएका थिए, स्थानीय मेडिकलमा थप समस्या भएपछि उनलाई थप उपचारका लागि स्वास्थ्य सेवा कार्यालयमा लगिएको थियो । स्वास्थ्य सेवा कार्यालयमा उपचारकै क्रममा उनको निधन भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका स्वास्थ्य व्यवस्थापक धर्मराज रेग्मीले बताए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट महावु गाउँपालिकाका अध्यक्ष पदमा विजयी गुरुङले दुई हजार ९ सय ७९ मत प्राप्त गरेका थिए । उनको निधनले दैलेख जिल्ला स्तब्ध बनेको छ ।
उनको निधन सँगै कर्मचारी संघ दैलेखले आयोजना गरेको जिल्ला अधिवेशन स्थगित गरेको छ । गुरुङको निधन सँगै उनको शव नेपाली काँग्रेस दैलेखको पार्टी कार्यालयमा ल्याई श्रद्धाञ्जली प्रकट गरिएको छ ।
स्थानीय गैडाबाजमै श्रद्धाञ्जली पश्चात २८ गते अन्तिम दाहसंस्कार गरिने महावु गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार