दैलेखः जिल्लाको गुराँस गाउँपालिकामा पालिका स्तरीय युवा क्लब गठन तथा नमुना युवा संसद् अभ्यास कार्यक्रम सुरु भएको छ । महिला सशक्तीकरण मञ्च नेपाल, युरोपियन युनियन, हेल्भेटास नेपालको समन्वयमा युवा संसद् कार्यक्रम सुरु गरिएको हो ।
गाउँपालिकाका–८ वटा वडाबाट २४ जना युवाहरू छनौट गरी कार्यक्रममा सहभागी बनाइएको गुराँस गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले बताए । युवाहरूलाई संसदीय अभ्यासमा अभ्यस्त बनाउने, विभिन्न कानुन निर्माणको प्रक्रिया र पालिकाका हरेक गतिविधिमा समेत युवाहरूलाई सक्षम बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ओलीको भनाई छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले युवाहरूलाई नसमेटी राज्य कतै पनि नपुग्ने भन्दै स्थानीय तहमा झनै युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले आजको असल र जिम्मेवार युवा भोलिको ठुलो सम्भावना र परिवर्तनको संवाहक हुने तर्क गरे । गाउँपालिकाले युवाहरूका लागि धेरै गर्न सक्ने तर युवाहरू एक्ला एक्लै भन्दा पनि साङ्गठनिक रूपमा दर्ता भई आउन समेत उनले आग्रह गरे ।
गुराँस गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनका लागि गुराँसका आठ वटै वडाका युवाहरूको साथ चाहिने भन्दै रचनात्मक सहयोगको अपेक्षासहित युवाहरूका लागि पालिकाले माथिल्लो निकायसम्म समन्वय गर्ने र पालिकाबाट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले युवाहरू भरोसाको केन्द्र भएको भन्दै युवाहरूको नेतृत्व विकासका लागि गाउँपालिकाले हर प्रयास गर्ने बताइन् । कार्यक्रममा महिला सशक्तीकरण मञ्चका अध्यक्ष सुनिता चन्द लगायत वडा अध्यक्षहरूको सहभागिता रहेको थियो ।









