काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहिबार भएको मतदानमा उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् ।
मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
निर्वाचनमा तीन सय १३ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । राष्ट्रपति पदको मतदानका लागि बिहिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानका लागि नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो ।
पूर्व सभामुख समेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार थिऐ भने अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको मात्र साथ थियो ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा वि.सं. २०६२÷६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
को हुन रामचन्द्र पौडेल
राष्ट्रपतिमा निर्वाचित पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट वि.सं. २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनकी श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) छन् ।
मध्यमवर्गीय किसान परिवारमा जन्मेका पौडेलको स्थायी बसोबास व्यास–८ बेलथुम्की तनहुँ हो भने हालको ठेगाना काठमाडौँ–१६ बोहोराटार बालाजु हो । उनले शास्त्री (संस्कृत साहित्य, २०२४), स्नातकोत्तर (नेपाली साहित्य २०२७) शिक्षा लिएका छन् ।
वि.सं. २०१६ मा पोखरामा हिमालयन छात्र संघ स्थापना गरेका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दैगर्दा विसं २०१७ जेठ–असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि भएका थिए । वि.सं.२०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरीे प्रधानमन्त्री बिपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका हुन् ।
नन्दीरात्रि माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनले नन्दीरात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष, रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष, जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व गरेका थिए ।
उनि वि.सं. २०१९ मा नेपाल संस्कृत विद्यार्थी संघको सचिवको हैसियतमा २०१९–२०२० सालमा उपत्यका आन्दोलनमा र २०२०–२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफ्तार भएका थिए ।
कांग्रेस तनहुँको सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६)को जिम्मेवारी सम्हालेका नेता पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित कांग्रेस तनहुँ समितिको संयोजक २०३७, कांगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख २०४० र विसं २०४३ मा कांगेस केन्द्रीय सदस्य भएका थिए ।
कांगेस केन्द्रीय महामन्त्री (२०६२–२०६४), कांगेस केन्द्रीय उपसभापति (२०६४(२०७२), कांग्रेस संसदीय दलको नेता (२०६४–२०७०) भएका पौडेल २०७२ सालमा कांगे्रसको केन्द्रीय कार्यवाहक सभापति भएका थिए ।
भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र संघर्षमा संलग्न भएको आरोपमा वि.सं. २०१८ मा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोगेका पौडेल विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार हुनुका साथै त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनका क्रममा राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका थिए ।
उनि २०४८ सालमा तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने त्यसपछि तनहुँ क्षेत्र नं. २ बाट २०५१, २०५६, २०६४, २०७० मा लगातार प्रतिनिधिसभा निर्वाचन र संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनि तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् ।
निर्वाचनपछि पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, वि.सं. २०४९ मा कृषिमन्त्री भएका उनि २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । पौडेलले २०५६ साल र त्यसपछि उपप्रधान तथा सूचना÷सञ्चार मन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधान तथा गृहमन्त्री हुनुका साथै शान्ति समितिको संयोजक (२०६१–२०६२), शान्ति तथा पुनःनिर्माणमन्त्री (२०६३–२०६४), कांग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता (२०६४–२०७०) को जिम्मेवारी सम्हालेका थिए ।
पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’को सम्मान (सन् २०२०) लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।
उनका नेपाली कांग्रेसको संक्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५, नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद २०७५, कृषिक्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग २०७९, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास (माघ १९ को काण्डपछि) लगायत दर्जनौँ पुस्तक तथा विभिन्न विषयमा पत्रपत्रिका तथा अनलाइनमा समसामयिक लेख रचना प्रकाशित छन् ।
वि.सं. २०२५ मा बिपी कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि तत्कालीन विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल गई अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिएका थिए । त्यहाँ बिपीसँग पौडेलको पहिलो भेट भएको थियो । त्यसबेला बिपीले पौडेलसँगै जेलमा रहेका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेटेका थिए ।
राजनीतिक जीवनमा वि.सं.२०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका उनी समाजवादी चिन्तक र प्रयोगकर्ता तथा स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी हुनुका साथै स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याताको विशेष पहिचान बनाएका छन् ।
कांगे्रसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रूपमा परिचित उनले पार्टीका तत्कालीन सभापति बिपी कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधँै मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।
यसैगरी सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका उनि विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुन् ।
पौडेलले नेपालका सबै जिल्ला तथा भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशको भ्रमण गरेका छन् ।









