जिल्ला अदालत दैलेखले शिक्षकको हत्या गरेको कसूरमा गुराँस गाउँपालिका–८ मुकुटकी २८ वर्षीया मुना राना (खड्का)लाई जन्मकैदको फैसला गरेको छ ।
बुधबार जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसूरदार मुनालाई जन्मकैदको फैसला भएको हो ।
मुनालाई हत्या कसूरमा जन्मकैदको फैसला भएपनि उनका श्रीमान डम्बर खड्कालाई सफाई दिएको जिल्ला अदालत दैलेखका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कूसुरदारलाई जन्मकैद (२५ वर्ष) कारावास बस्नुपर्ने, पीडित पक्षलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपैंयाँ जम्मा गर्नुपर्ने सजाय तोकिएको अदालतको फैसलामा उल्लेख छ ।
डेढ वर्ष अघि गुराँस गाउँपालिका–८ मा रहेको मालिका मावि लालीकाँडा मुकुटका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बीसीको ०७८ भदौ २९ गते राति हत्या भएको थियो । आफू माथि यौनजन्य दुव्र्यवहार भएपछि धारिलो चक्कू प्रहार गरी हत्या गरेको मुनाको भनाई थियो ।









