काठमाण्डौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दोहोरो राहदानी लिएको विषयमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
आइतबार युवराज पौडेल (सफल)ले सभापति लामिछानेको राहदानी प्रकरणमा महान्यायाधिवक्ताको कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । उनलाई राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले उन्मुक्ति दिएको थियो ।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेसँगै पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले दोहोरो राहदानी लिएको भन्ने आरोपबाट क्लिनचिट पाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने सन्दर्भमा लामिछानेलाई उन्मुक्ति दिइएको थियो । उनीविरूद्धको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको थियो ।
कुनै पनि फौजदारी कसुरमा प्रहरीले अनुसन्धान गरी पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गर्नुपर्ने हुन्छ । त्यसअनुसार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालय पुगेको थियो ।
अमेरिकी राहदानी हुँदा हुँदै नेपाली नागरिकता प्रयोग गरी राहदानी बनाएको पुष्टि भएपछि राहदानी ऐन अन्तर्गत कारबाही हुनसक्ने अवस्था बनेको थियो । सर्वोच्च अदालतले गत माघ ३ मा उनको नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सो नागरिकता प्रयोगबाट प्राप्त सबै पद गुम्ने फैसला गरेको थियो ।









