जनता भन्छन् सरकारले नीति बनाएर काम गर्नुपर्दछ

दैलेख : एसियाकै लोपउन्मुख समुदायको रुपमा रहेको राउटे समुदाय अहिले संकटमा देखिएको छ । परम्परागत शैली अपनाउँदै आएको राउटे समुदाय पछिल्ला दिनहरुमा मदिराको लतमा फस्दै गएको छ ।

बृद्धदेखि बालक सम्मले मदिरा सेवन गर्ने गरेका कारण उनीहरुको प्रजनन् क्षमतामा समेत कमि आएको अवस्था छ ।
जंगलको जडिबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायहरुमा विभिन्न निकायहरुले दिएको सहयोगले झनै बिग्रदै गएको प्रति चिन्ता व्यक्त गरिएको छ ।

राज्यले राउटे समुदायको उचित व्यवस्थापन, उनीहरुको आहार विहारका लागि स्पष्ट नीति निर्माण गरेर सोही अनुसार काम गर्नुपर्ने अहिलेको आवश्यकता हो । स्थानीय बासिन्दाहरु सरकारले स्पष्ट नीति लागू गरेर संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।

नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले भने राउटे समुदायको ऐतिहासिकतालाई ख्याल गर्दै उनीहरुको बास्तविक समस्या खोजी गरेर सरकारले टोलि खटाएर उनीहरुलाई आवश्यक पर्ने कुराहरुको जिन्सि सामान प्रदान गर्दै नगद कारोवार बन्द गर्नुपर्ने आवश्यकता रहेको छ । तीनै तहका सरकारले यो विषयमा गम्भीर हुनुपर्दछ ।

दैलेख उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजु श्रेष्ठले मदिरा सेवनका कारण राउटे समुदायको अवस्था दयनिय बन्दै गएको बताए । सरकारले पौष्टिक आहार प्रवद्र्धनसँगै उनीहरुले उत्पादन गर्ने सामग्रीहरुको प्रभावकारी बजारीकणमा सरकारले बिशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

सुशासनकर्मी युवराज शाहीले कुलतमा फसेका बालबालिका र राउटे समुदायलाई कुलतबाट जोगाउन बजारको लिचि मदिरा बन्द गराउँदै उनीहरुलेनै स्थानीय स्तरमा जडिबुटीबाट उत्पादन गरेको मदिरा प्रयोग गराउने र विस्तारै विस्तारै आत्मनिर्भर अभियानमा जोड्नुपर्ने सुझाव दिएका छन् ।

स्थानीय पदम थापाले राउटे समुदायलाई उत्पादनमा जोड्दै जुन स्थानमा जान्छन् सोही स्थानमा पुगेर उनीहरुलाई नगद प्रवाह नगरेर आवश्यक लत्ताकपडा, खाद्यान्न, औषधि लगायत वा बस्तुहरुको सहजता गर्नुपर्ने र सरकारलेनै विशेष निगरानी गर्ने टोलि परिचालन नगरेसम्म राउटेको अस्तित्व संकटमा पर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार