विद्यालयमा पुग्यो पाठ्यपुस्तक

दैलेख : कर्णाली प्रदेशका अन्य जिल्ला जस्तै विगतका वर्षहरूमा पाठ्यपुस्तक समयमै उपलब्ध नहुने दैलेखका विद्यालयहरूमा यस वर्ष शैक्षिक सत्र हुनु अगावै पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका गरी ११ वटै स्थानीय तहका ९० वडामा रहेका ५ सय ११ सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पठाइएको हो ।

शैक्षिक सत्र सुरु भएको महिनौँ दिनसम्म पुस्तक नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरु भएको दिन नै पुस्तक पाएका छन् । पुस्तक नपाएको दुःख सुनाउने दैलेखका विद्यार्थीको गुनासो यस वर्ष भने सम्बोधन भएको    छ ।

विगतका वर्षहरूमा शैक्षिक सत्र सुरु भएको करिब पाँच महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या रहेको भए पनि यस वर्ष शैक्षिक सत्र सुरु हुना साथ विद्यार्थीले पाठ्यपुस्तक पाएका शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त कार्यालय प्रमुख रतन बहादुर विष्टले बताए ।

अघिल्लो वर्ष शैक्षिक सत्र जेठबाट सुरु भएको भए पनि दैलेखका विद्यार्थीले असोजमा पाठ्यपुस्तक पाएका निमित्त कार्यालय प्रमुख विष्टले बताए । ‘अघिल्लो वर्ष शैक्षिक सत्र जेठबाट लागू भएको हो, जनक शिक्षा सामग्री केन्द्रले उपलब्ध नगराउँदा विद्यार्थीले असोजमा पाठ्यपुस्तक पाएका थिए, यस वर्ष समयमै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ’, विष्टले  भने । उनले कक्षा १ देखि पाँचसम्मको पाठ्यपुस्तक जिल्ला आएर स्थानीय तहका सम्पूर्ण विद्यालयहरूमा ढुवानी कार्य चलि रहेको र अन्य कक्षाहरूको पाठ्यपुस्तक एक÷दुई दिनमा ढुवानी कार्य अघि बढ्ने निमित्त कार्यालय प्रमुख विष्टले बताएका छन् ।

उनले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएपछि पढाइमा सहजता भएको बताए । निमित्त कार्यालय प्रमुख विष्टका अनुसार पाठ्यपुस्तक खरिदका लागि स्थानीय तहले सम्बन्धित विद्यालयको खातामा पैसा जम्मा गर्ने र विद्यालयले आवश्यक पुस्तक खरिद गरी विद्यार्थीलाई वितरण गर्ने जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार