जिल्लाका विभिन्न स्थानहरुमा विद्युतीकरण अभियान प्रभावकारी बन्दै गएको छ । पालिका सदरमुकामहरु सम्म सहजै विद्युत सेवा पुगेपछि अव स्थानीय सरकारले साना तथा मझौला उद्योगहरु सञ्चालनका लागि बिशेष पहल गर्नुपर्ने देखिएको छ ।
विभिन्न खाले कुटानी पिसानी लगायतका मझौला उद्योग सञ्चालन गर्दै गाउँमा रोजगारी सृजना गर्ने खालका कामहरुमा सबैले बिशेष ध्यान दिन सकेको खण्डमा केही मात्रामा रोजगारी सृजना हुने छ भने आर्थिक अवस्था सुधारका पाटाहरु सहज हुनेछन् ।
सरकारले विद्युत अभियानलाई प्रभावकारी बनाउने नीति लिएसँगै हरेक किसानहरुले गर्ने साना तथा मझौला उद्योगहरुका लागि विद्युत खपतको बिषय सँगै केही सुविधाका बिषयहरु पनि प्रदान गर्नुपर्ने देखिएको अवस्था छ ।
दैलेखका विभिन्न भू–भागहरु साना उद्योगका लागि प्रभावकारी क्षेत्र मानिएका छन् । त्यस्ता क्षेत्रको पहिचान गर्दै हरेक पालिकाहरुले अव साना उद्योगहरु स्थापना गर्नुपर्ने देखिन्छ । पशुपंक्षी उत्पादन क्षेत्रहरु, तरकारी उत्पादन क्षेत्रहरु, फलफूल उत्पादन क्षेत्रहरुको पहिचानसँगै क्षेत्र निर्धारण गरेर स्थानीय स्तरमै उत्पादन भएका बस्तुहरुको थप व्यवसायिकीकरण गर्नुपर्ने अहिलेको आवश्यकता हो ।








