दैलेखको भाग्य र भविष्य निर्धारण गर्ने निकै महत्वपूर्ण आयोजनाहरूमा देखिएको कामको ढिलाइका बारेमा खुलेरै कोही पनि निकाय बोल्न सकेको अवस्था छैन ।
दैलेखमा जिल्ला प्रशासन कार्यालयले काम तोकिएको र सम्झौता गरेको अवधिमै सम्पन्न गर्नका लागि प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले भने यस्ता विषयहरूमा सुरुवात देखिनै चासो र चिन्ता बढाएको देखिन्छ ।
दैलेखको समग्र भविष्य बदल्ने यस्ता महत्वपूर्ण आयोजनाहरूको बारेमा प्रदेश र सङ्घमा निर्वाचित प्रतिनिधिहरूले कामको प्रभावकारीताका विषयमा बोल्न सकेको अवस्था देखिँदैन ।
दैलेखको भविष्य निर्धारण गर्ने मध्य पहाडी राजमार्ग, पेट्रोलियम अन्वेषणको काम, दैलेख महावु हुँदै जुम्ला जोड्ने सडक, माथिल्लो डुगेश्वर दुल्लू भैरवी हुँदै कालिकोट जोड्ने सडक, दैलेखको मात्र नभएर समग्र देशको भविष्य निर्धारण गर्ने पेट्रोलियम अन्वेषण जस्ता ठुला र महत्पूर्ण आयोजनाहरूको बारेमा दैलेखका नागरिक समाज, राजनीतिक दल निर्वाचित जनप्रतिनिधिहरूले ठोस निष्कर्ष निकाल्न नसक्नु दैलेखको भाग्य र भविष्यको विषयमा वकालत र पैरवी गर्न नसकेको विषय स्पष्ट हुने गर्दछ ।
मध्य पहाडी राजमार्ग आयोजनामा इन्जिनियरको प्रत्यक्ष संलग्नता देखिन्छ । जसका कारण आयोजनाका विभिन्न खण्डमा भएका कामहरूको प्रभावकारिताका बारेमा धेरै प्रश्नहरू उठेका छन् ।
आयोजनाबाट आउने कन्टिजेन्सि रकमबाट दर्जन भन्दा बढी सब ओभरसियर र इन्जिनियर नियुक्ति गरेको भन्दै प्रमाण देखाउने मध्य पहाडी आयोजनाले किन कामको गुणस्तरीयताको विषयमा कर्मचारी खटाउन सकेन यो विषयलाई अध्ययन गर्ने हो भने आयोजनाका इन्जिनियरको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ ।
नेपालमा गल्ती गर्नेलाई कारबाही हुने अवस्था देखिँदैन किनकि गल्ती गर्नेहरू कुनै न कुनै राजनीतिक दलको आवरणमा बसेर कमिसन खाएका मात्र हुँदैनन् आएको कमिसन माथिसम्म पुराएका हुन्छन् । यस्ता धेरै हरकतका कारण पुराना दलहरूप्रति युवा पुस्ताको विश्वास कम हुँदै गएको देखिन्छ ।








