नेपाल २२ से २४ राज्यकालदेखि यता र वर्तमान अवस्थामा संघीयता पछिको विकासको इतिहासलाई हेर्ने हो भने कामै नभएको भनेर भन्न सकिने अवस्था छैन् तर जति हुनुपर्ने थियो त्यो अनुसार नेपालका नागरिकहरुको आर्थिक विकास, देशको समृद्धि र सुशासन प्रवद्र्धन भने हुन सकेको छैन् ।
तत्कालिन राणा शासन र राजामहाराजाहरुको शासनकालमा जसरी आफन्तर भाई भारदारहरुको हालिमुहाली हुने गर्दथ्यो अहिलेपनि त्यही अवस्था छ भनेर ठोकुवा गर्नुपर्ने बाध्यता देखिएको छ । नेपालको राजनीतिमा जव परिवर्तनका नाराहरु गुन्जिए त्यसैगरी देश र जनताको परिवर्तनका लागि गुन्जनुपर्ने नाराहरु गुन्जन सकेनन्, सवैले जनतालाई झुठा आवश्वसनहरु धेरै बाँडेको देखिन्छ । राजतन्त्र फाल्दा होस, जहानिया राणा शासनको अन्त्य गर्दा होस वा संघीयता मुलुकमा चाहिन्छ भनेर आन्दोलन हुदा पनि जनताको बिषय मुख्य बनाईयो तर सत्तामा पुगेपछि ति कुराहरु बिर्सने र आफन्तबाद र परियाबादमित्रै नेपालका ठूला पार्टीका ठूला नेताहरु रुमलिएको स्पष्ट हुन्छ ।
गरिव र बिपन्न नागरिकहरुबाट लाखौं असुल गरेर नक्कली भुटानी सरणर्थी बनाउने पछिल्लो बिषय मात्र हैन्, ललिता निवास काण्ड, क्यान्टुनमेन्ट घोटाला काण्ड, यती काण्डा, सुन काण्ड, जस्ता धेरै काण्डहरु राजनीतिक दलहरुले सत्ता हातमा लिएपछि देखिएका काण्डहरु हुन् । यस्ता काण्डमा नेताका आसेपासे, आफन्तहरुकै बढी सक्रियता देखिएको छ ।
जनताका लागि भनेर कुर्सिमा पुग्ने र आफन्तहरुका लागि नीति नियम कुल्चेर करोडौं अनियमितता गर्नेहरु सबैलाई छानवीनको दायरामा ल्याउँदै कारवाही प्रक्रिया थालनी गर्ने र आगामी नेतृत्वहरुले यस्ता गल्ति नगर्ने भनेर जनतासामु माफि माग्नुपर्ने अवस्था अहिलेको हो । किन यस्तो अवस्था आयो भनेर दलहरुले पुर्नविचार गर्नुपर्ने आवश्यकता देखिएको छ । अर्कोतर्फ स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुले पनि अब आफ्नो आचरण सुधार गरेर नेपाल र नेपाली जनताको लागि केही काम गर्नुपर्दछ भनेर सच्चिने बेला आएको छ ।
जनताहरु हिजोको जस्तो जनता अव छैनन् किनकी सचेत नागरिकहरुको तप्का बलियो भइसकेको अवस्था छ । देश र जनताको पक्षमा जसले काम गर्छ त्यसैलाई आगामी दिनमा जनताले सत्ताको चाबी सुम्पने दिन आईसकेकोले दलका नेता र राष्ट्रसेवक कर्मचारीहरु सच्चिनुपर्ने अहिलेको आवश्यकता हो ।








