काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरूले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाइमा पुग्न सम्भव नहुने बताएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित राष्ट्रिय परिषद्को प्रथम बैठक एवं विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनमा महिलाको भूमिका प्रमुख रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन क्रान्तिकारी महिला एकताबद्ध हुनुपर्ने बताए ।
उनले देशमा ठूलो राजनीतिक परिवर्तनका वाहक नेपाली श्रमजीवी महिला रहेको बताउँदै माओवादी क्रान्तिकारीहरू एकताबद्ध भएर अघि बढ्न सक्दा फेरि २०६४ सालकै अवस्थामा पुग्न सक्ने स्पष्ट पारे । अहिले गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेकाले प्रतिगामीविरुद्ध परिवर्तनकामीहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीका जनवर्गीय संघठनहरूलाई जनता केन्द्रित भएर परिचालन गर्न र सोहीअनुसार नीति तथा कार्यक्रम अगाडि सारिएको बताए । उनले अब कामकाजी संघठन बनाउने र सोहीअनुसारको पद विभाजनको प्रक्रियालाई आत्मसात् गरिने उल्लेख गरे ।









