गणतन्त्र प्राप्तिका १५ वर्ष पुरा भई १६ बर्ष लाग्दै गर्दा यसको समीक्षा नकारात्मक र सकारात्मक दुवै तरिकाले गरिएको अवस्था छ । राजा महाराजाहरूले देश र जनताको पक्षमा काम गर्न सकेनन् भनेर लगाइएको चर्को नारा सार्थक भयो वा भएन, जनता, राष्ट्रियताका सवालहरू, विकासले फड्को मार्ने खालका कामहरू भए वा भएनन् । यस्ता विषयहरूको प्रयास भयो वा भएन । या त एउटा राजा परिवर्तन गरेर निर्माण भएका सयौँ राजाहरूले झन् देशलाई बरबादीतर्फ लिएका हुन र ? आम प्रश्न नेपालका राजनीतिक दलहरूतर्फ तेर्सिएको छ । उत्तर दिन दलहरूले सकेका छैनन् ।
जनताहरू ठुला पार्टीका नेता र नेतृत्वहरुले भनेकै भरमा अव विश्वास गर्न सक्छन् त ? निकै जटिल प्रश्न राजनीतिक दलहरूतर्फ तेर्सिएको छ । हुँदा हुँदा सरकारले गरेका पछिल्ला छानबिनका घटनाहरूलाई केलाउने हो भने एकले अर्कोलाई कसरी सकिन्छ खाडलमा हाल्ने प्रवृत्ति नेपाली राजनीतिमा देखिएको छ । यो दलहरूका लागि सबैभन्दा खराब समय हो भनेर अहिले सोचेको अवस्था छैन ।
सञ्चार माध्यमहरूको द्रुत विकास, सामाजिक सञ्जालको अत्यधिक प्रयोगलाई कसैले सदुपयोग गरिरहेका छन् त कसैले दुरुपयोग गरिरहेको अवस्था छ । विशेष गरेर नेपालका तीनचारवटा ठुला दलहरू बिच कसले कसलाई सकाउन सकिन्छ भनेर चलिरहेको प्रतिस्पर्धाले दलहरूले भन्दै आएको र हामीले लडेर, हजारौँको बलिदानबाट प्राप्त उपलब्धि भनेर भन्न नसक्ने गरी दलहरू भ्रष्टाचार र अनियमितताको दलदलमा फसिसकेको तत्थ्य पुष्टि हुँदै गएको छ ।
सीमान्तकृत समुदायको बस्तीका समस्या उजागर गरेर, बिदेसिने युवाहरूलाई गाउँमै रोकेर, ठुला विकासे आयोजना निर्माणगरेर, देशको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा नेताका फरियावादहरूले मात्रै अरबौँ लुट मच्चाएको गणतन्त्र, सयौँ छोटे राजाहरूको जन्म भएको गणतन्त्र, अनि जनता सधैँ त्यही गणतन्त्रका लागि तिमिहरूलाई नेता मानिरहन सक्लान् त ? विषय गम्भीर छ ।








