काठमाण्डौः अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणका क्रममा इमानदार भएर काम गरेको बताएका छन् । मंगलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराइ करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमानदार भएर काम गरेको बताए । उनले आउँदो आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको दाबी गरेका छन् । उनले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए । अर्थमन्त्रीले श्रेष्ठ ३० वर्षदेखि यही काम गर्दै आएको बताए । श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताए ।








