९० वटा बाख्रा वितरण भवानीलाई बाख्रा स्रोत केन्द्र बनाइँदै


दैलेखः दैलेखको नारायण नगरपालिका वडा नं. १० भवानीलाई बाख्रा स्रोत केन्द्र बनाउने तयारी थालिएको छ ।
भवानीका कतिपय किसानहरूले लामो समयदेखि बाख्रा पालनलाई आम्दानीको स्रोत बनाउँदै आएका छन् ।
लेकाली भू भाग र प्रशस्त मात्रामा जङ्गल भएकोले कतिपय किसानहरूले हावापानी सुहाउने भेडा र बाख्रा पालन गर्दै आएको अवस्थालाई मध्यनजर गरी नारायण नगरपालिका पशु शाखा मार्फत किसानहरूलाई तालिम, उन्नत खोर सँगै खोरमै बाँधेर बाख्रा पालनका लागि अभियान थालिएको छ ।
विगत दुई बर्सअघिदेखि किसानहरूलाई छनौट गरी बाख्राका लागि आवश्यक पर्ने घाँस उत्पादन गरिसकेको र अहिले ९ जना किसानहरूलाई १० वटा बाख्राका दरले ९० वटा बाख्रा र उन्नत बोका एक थान वितरण गरिएको पशु शाखाका चित्र प्याकुरेलले जानकारी दिएका छन् ।
बाख्रा वितरणमा पुगेका नारायण नगरपालिका उपप्रमुख तप्ता कुमारी थापाले भवानीलाई बाख्रा स्रोत केन्द्रको रूपमा विकास गर्दै अन्य किसानहरूले पालेका बाख्रा र अहिले प्रदान गरिएका बाख्राबाट उत्पादन भएका पाठा र बाख्रा अन्य वडामा वितरण गर्ने गरी किसानहरूले काम गर्न सुझाव दिएकी छन् ।
नारायण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रेसमबहादुर थापाले नगरपालिकाले यस अघिको पाँच वर्षको समय र अहिले समेत किसानहरूलाई उत्पादनमा जोड्ने प्रभावकारी काम गर्दै गएकोले पाँच वर्ष अघि प्रदान गरिएको अनुदान र अहिलेको अनुदानलाई तुलना गरेर अनुदानलाई सदुपयोग नगर्ने किसानहरूलाई सेवा सुविधा रोक्ने र राम्रो काम गर्नेलाई थप पुरस्कार दिने अभियान थालेकोले सबै किसानहरूले अनुदानको सदुपयोग गर्न सुझाव दिएका छन् ।
नारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष महेन्द्र खड्काले बाख्रा पालक किसानहरू कहिल्यै घाटामा नजाने भन्दै बाख्राले उत्पादन गरेका पाठा बाख्राको जन्म दर्ता, जिन परिवर्तनको विवरण नियमित राखेर राम्रो आम्दानी लिन किसानहरूलाई आग्रह गरेका छन् ।
भवानीका बाख्रा पालक किसानहरूले वर्षको एक लाख पचास हजार सम्म आम्दानी लिने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार