पहाडी भू–भागमा अहिले बाँझो जमिन धेरै छ । कतिपय जमिनहरु सिंचाईको अभावले बाँझो राख्नुपर्ने अवस्था छ भने कतिपय स्थानहरुमा युवाहरु गाउँ छोडेर विदेश गएका कारण पहाडका गराहरु बाँझो रहेका छन् । बाँझो जमिनको सदुपयोग गर्ने बिषयमा तीन तहका सरकारहरुले प्रभावकारी नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यकता देखिएको छ । स्थानीय सरकारले उत्पादनलाई महत्वका साथ लिनुपर्दछ भन्ने बिषयको चर्चासँगै केन्द्र र प्रदेश सरकारले पनि यो अभियान थाल्नुपर्ने हो ।
कतिपय पहाडी भू–भागहरु र सुख्खा डाँडामा सोलार लिफ्ट मार्फत खानेपानी र सिंचाई अभियानलाई प्रभावकारी बनाउन सकेको खण्डमा यसको प्रभाव सकारात्मक पर्न सक्ने देखिएको छ ।
अधिकार सम्पन्न गाउँपालिकाले एक पालिका एक उत्पादन अभियानको सुरुवात गर्नुपर्ने हो तर त्यसो हुन सकेको अवस्था छैन् । सुरुवात देखिनै पालिकाहरुले हरेक वर्ष उत्पादनको क्षेत्रमा एउटा मात्र प्रभावकारी कामको थालनी गर्न सकेको भए न्यूनतम एक वर्षमा पाँच जना जतिले रोजगारी प्राप्त गरेको भएपनि अहिलेसम्म ३० जनाले एउटा पालिकामा रोजगारी प्राप्न गर्न सक्ने थिए, यस्ता प्रभावकारी योजनाहरुको निर्माण गर्नुपर्ने बिषयलाई अहिलेपनि प्रभावकारी रुपमा कार्यान्वयनको चरणमा पु¥याउनुपर्ने अहिलेको आवश्यकता हो ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले संयुक्त रुपमा आवश्यक स्थानहरुमा उत्पादनमुलक गतिविधिहरु सुरु गर्नुपर्ने अहिलेको आवश्यकता हो ।








