प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार संसदको बैठक सुरु भएलगतै विशेष समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक बिमोचन कार्यक्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले एक पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । एमाले संसद पन्तले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको र यसले नेपालको स्वाभिमान गिरेको बताए ।
आफूहरुकै अग्रसतामा प्रधानमन्त्री बनेका प्रचण्डको अभिव्यक्तिले नेपालीको मन रोएको भन्दै उनले भने, सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं जस्तो भएको छ ।’ भक्ति थापा, अमर सिंह, वलभद्र सिंहको सन्तानहरु (नेपाली) देशको स्वाधिनता, भौगोलिक अखण्डता र स्वाभिमान जोगाउन मरिमेटेर लागेको भन्दै उनले भने ‘तर त्यही स्वाभिमानमाथि आघात हुन्छ, प्रहार हुन्छ । त्यो अन्तबाट होइन, आफ्नै प्रधानमन्त्रीबाट । यो दुर्भाग्यको दिन किन देख्नुपरेको ?’
उनले प्रचण्डको अभिव्यक्तिलाई भारत भ्रमणसँग जोडे । हालै भारत भ्रमणमा जानुअघि आफूहरुले १९५० को सन्धि, ईपीपीको प्रतिवेदनबारे कुरा गर्न आग्रह गरेको भएपनि प्रधानमन्त्रीले विश्वासको वातावरण धमिलने भएकाले ईपीपीको कुरै उठाइन् भनेको स्मरण गरे ।
उनले प्रधानमन्त्रीले उपलब्धि भनेर दाबी गरेको १० हजार मेघावाट विजुली निर्यातको सहमतिमा समेत प्रश्न उठाए । कुनै बेला भारतीय अधिकारीहरुले भुटानको मोडलमा जान सल्लाह दिएको स्मरण गर्दै एमाले सांसद पन्तले भने, भारतले तेस्रो देशको लगानी हुनुहुँदैन भनेर शर्त राखेको छ । अर्थात नेपालको जलस्रोत एकलौटी भारतको कब्जामा जाने नीति मानेर आउनुभयो ।’
अहिले आएर प्रधानमन्त्रीले नेपालको प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै उनले यो आफूहरुलाई सैह्य नहुने बताए । एमाले सांसद पन्तले अघि भने, ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको अडान रहेको उनले प्रष्ट पारे । एमाले सांसद पन्तले भने, ‘को मान्छे प्रधानमन्त्री बन्ने दलहरुले छलफल गर्लान् । तर जो दिल्लीतिर नफर्कने, नेपालतिर फर्कने, नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो, जसले देश गरिमा र मर्यादाको रक्षा गर्न सकोस् ।’
यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रधानमन्त्रीको जवाफ भन्दा पनि राजीनामा चाहिएको बताएका छन् । संसद भवन परिसरमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता विपरीत रहेको बताए ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो’, ओलीले भने ‘अब हामीलाई उहाँको जवाफ होइन राजीनामा चाहियो, उहाँबाट सारै भएन ।’ आफूलाई प्रधानमन्त्री बनाउन ‘प्रितम सिंह सरदार पटक पटक दिल्ली गएको’ भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।
त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गलत र आलोचनायोग्य रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीले संसदको सम्मान गर्नसक्नुपर्ने बताए ।
तीन पटक प्रधानमन्त्री भएका प्रचण्ड पहिलो र तेस्रो पटक एमालेको अग्रसरतामा प्रधानमन्त्री बनेको भन्दै उनले भने, ‘संसदको सम्मान र नेपालको राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने काम प्रधानमन्त्रीले गर्नुपर्छ । प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, त्यो आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ ।’
प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको मागबारे सोधिएको प्रश्नमा उनले प्रमुख प्रतिपक्षले माग राख्न पाउने बताए । साथै उनले मिटरब्याजसम्बन्धी अध्यादेश पास हुने अवस्थाप्रति प्रमुख प्रतिपक्ष गम्भीर नभएको गुनासो गरे ।









