स्वास्थ्य क्षेत्र सम्वेदनशिल क्षेत्र हो । समस्या परेका मात्र सम्झिने अघिपछि वास्था नगर्ने प्रचलन पनि धेरै छ । जुन व्यक्तिलाई स्वास्थ्य समस्या पर्छ त्यतीवेला मात्र सेवा प्रभावको बिषयमा वकालत र पैरवी गर्ने भन्दापनि कसरी दिगो रुपमा समस्या समाधान गर्न सकिन्छ त्यसतर्फ सबैले ध्यान दिनुपर्ने अहिलेको आवश्यकता हो ।
दैलेख जिल्लामा रहेका ११ वटै पालिकाका विरामीहरुलाई सेवा प्रदान गर्ने स्वास्थ्य सेवा कार्यालय दैलेखमा अहिले व्यवस्थापकीय पक्ष निकै कमजोर देखिएको छ । पुराना सामानहरु चल्ने अवस्थामा छैनन्, दक्ष जनशक्ति अभाव धेरै लामो समयदेखि देखिएको छ । अस्पतालको भौतिक पूर्वाधारको क्षेत्रमा पनि समस्या बढ्दै गएको अवस्था छ ।
प्रदेश सरकारले करोडौं रकम बिनियोजन गरेर निर्माण थालिएको सुविधासम्पन्न अस्पताल निर्माण कम्पनीको लापरवाहीका कारण अहिले समस्यामा पर्दै आएको छ । काममा ढिलाई भएका कारण बर्षेनी करोडौं रकम फ्रिज गएको अवस्था छ । यस्ता बिषयहरुमा जिल्लास्तरका नेता, नेतृत्व र निर्वाचित तीनवटै तहका जनप्रतिनिधिहरुले सयुक्त रुपमा सुधारका प्रयासहरु गर्नुपर्ने देखिएको छ ।
औषधि खरिद बाहेक अन्य सेवा सुविधा प्राप्त हुन नसकेका कारण स्वास्थ्य क्षेत्रका कार्मचारीहरुको काम गर्ने मनोवल कमजोर भएको अवस्था देखिन्छ । आवश्यक स्रोत साधन र भौतिक पूर्वाधार लगायत काम गर्ने कर्मचारीहरुले प्राप्त गर्ने बिभिन्न सुविधाहरु कटौति भएका कारण दैलेखको स्वास्थ्य सेवा कार्यालय दुर्गममा १ वर्ष आएर काम गरेको भन्ने नाममा मात्र डाक्टरहरु आउनुपर्ने बाध्यतावाला अस्पताल बन्दै गएको छ । बेलैमा सचेत बनौं, दिगो समाधानका उपायहरु खोजौं ।








