
धमाका संवाददाता, दैलेख नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटनाहरू बढ्दै गएका छन् । आत्महत्याका घटना नेपालमा मात्रै नभएर विश्वभरी नै हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा प्रत्येक वर्ष करिब ८ लाख मानिसले आत्महत्या गर्छन् । यस आधारमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गरेको हुन्छ ।
नेपालमा आत्महत्या गर्नेहरूमध्ये करिब ७२ प्रतिशतले झुन्डिएर आत्महत्या गर्छन् । विष सेवन गरेर, आफूले आफैँलाई गोली हानेर, आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर, हातहतियारको प्रयोग गरेर आत्महत्या गर्ने गरेको पाइन्छ । कतिपय अवस्थामा आत्महत्यालाई हत्या भएको भन्दै मुद्दा परेका घटनाहरू छन् ।
यसले सामाजिक सम्बन्धमा खलल पु¥याउँछ । आत्महत्यालाई आफ्नो माग पूरा गराउने सौदाबाजीको रूपमा पनि प्रयोग गर्ने गरेको छ । दैलेख प्रहरीको पछिल्लो तिन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा १ सय ५८ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा ५७, आर्थिक वर्ष २०७८÷०७९ मा ५६, आर्थिक वर्ष २०७९÷०८० मा ४५ जनाले आत्महत्या गरेका छन् ।
दैलेखमा झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या तथ्याङ्कमा बढी देखिनछ । आर्थिक वर्ष २०७७÷७८ मा ४८, आर्थिक वर्ष २०७८÷०७९ मा ४४ र आर्थिक वर्ष २०७९÷८० मा ४० जनाले झुन्डिएर आत्महत्या गरेका छन् । तथ्याङ्क हेर्दा प्रत्येक वर्ष दैलेखमा आत्महत्या गर्नेको संख्या उस्तै देखिन्छ । दुर्गम ग्रामीण क्षेत्रमा हुने आत्महत्याका घटना, सहरमा सम्भ्रान्त घरानामा हुने आत्महत्याका घटनाहरू प्रहरीको अभिलेखसम्म आउँदैनन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोतम कार्कीले आत्महत्याका घटना हुनु बेरोजगारी, प्रेम सम्बन्ध बिग्रेर वा पारिवारिक–सामाजिक कारणले प्रेम वियोगमा परेर, परिवारमा हुने झैँ–झगडा, अभाव वा मनमुटाब, स्वास्थ्य समस्या वा मानसिक समस्या, सामाजिक झमेलाका लगायतका कारण कारणले मानिसले आत्महत्या रोज्ने गरेको बताउँछन् ।
प्रत्येक आत्महत्या व्यक्तिगत समस्याका कारण हुने समाजशास्त्रीहरु बताउँछन् । व्यक्तिका आकांक्षाहरू तत्काल पूरा नभएपछि मानिसले आत्महत्या रोज्ने गरेको पाइन्छ । कुनै व्यक्ति आत्महत्याको तहमा पुग्नुको मूल कारण समाज रहेको समाज शास्त्रीहरूले औँल्याउने गरेका छन् । दैलेख प्रहरीको तथ्याङ्क अनुसार तिन वर्षको अवधिमा झुन्डिएर बाहेक आत्महत्या गर्नेको संख्या २५ रहेको छ ।
जिल्लामा झुन्डिएर बाहेक आर्थिक वर्ष २०७७÷०७८ मा विष सेवन गरी ७ जना, हतियार प्रयोग गरी १ जना, पानीमा डुबी वा भिरबाट हाम फाली १ गरी ९ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा विष सेवन गरी १० जना, हतियार प्रयोग गरी १ जना, पानीमा डुबी वा भिरबाट हाम फाली १ गरी १२ जनाले आत्महत्या गरेका छन् भने आर्थिक वर्ष २०७९÷०८० मा विष सेवन गरी ३ जना, हतियार प्रयोग गरी १ जना गरी ४ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्याका घटनाहरू हुन दिन स्थानीय सरकार र सम्बन्धित निकाएले सचेतनामा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउनुपर्ने प्रहरी निरिक्षक कार्कीले बताए । पछिल्ला वर्षमा दैलेखमा आत्महत्याका घटनामा केहि कमी आएको उनले बताए ।
गाउँका सरकारले भौतिक विकास मात्र नभई सामाजिक विकासमा ध्यान दिँदै समाजको चेतनाको स्तर वृद्धिमा ध्यान पु¥याउनुपर्ने देखिन्छ नागरिकको चेतनास्तर माथि भएका ठाउँमा भौतिक लगाएतका विकासमा समेत प्रभावकारीे देखिन्छन् ।









