लगाएको बाली बँदेल र बाँदरले खाइदिन्छ । बारीमै बसेर पहरा दिन बाध्य छौँ । किसानलाई बालीनाली सुरक्षा गर्न यो भन्दा अर्को विकल्प छैन । सरकार यसप्रति गम्भीर छैन । वर्षमा ६ महिना खान पुग्ने खेती जङ्गली जनावरले नष्ट गरे पछि बेशाह गर्नुको विकल्प छैन ।
दैलेखको भैरवी गाउँपालिका–५ का कृष्ण प्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् ।
कोशा लाग्ने बेलाको मकै खेती बँदेल र बाँदरले नष्ट गर्न थाले पछि उनीमात्र नभई गाउँका किसान मकै बारीमै दिन÷रात बिताउन बाध्य छन् ।
केही वर्ष अघिदेखि बँदेल र बाँदरले लगाएको वाली नष्ट गर्न थाले पछि किसान मारमा पर्दै गएका छन् । जङ्गल क्षेत्रको विस्तारसँगै वस्तिको नजिक आउने जङ्गली जनावरले वर्षमा ६ महिना खान पुग्ने मकै खेती सखाप पारे पछि बेसाह गर्नुपर्ने चिन्तामा किसान छन् ।
बँदेलले मकै नष्ट गर्न थाले पछि बारीमै वास बस्नुपर्ने बाध्यता आई लागेको जैसीले बताए । ‘जङ्गली जनावर बँदेलले मकै सखाप पार्दै आएपछि जोगाउन बारीमै रातभर जगराम बस्नुपर्ने बाध्यतामा छौँ, वर्षमा ६ महिना खान पुग्ने खेती बाँदर÷ बँदेलले नष्ट गरेपछि बेसाह थपिने भएको छ’, उनले भने ।
भैरवी गाउँपालिकामा मात्र नभई बँदेल र बाँदरले जिल्लाका धेरै ठाउँमा मकै खेती नष्ट गर्दै आएका छन् । कृषि विकास कार्यालय दैलेखका अनुसार यहाँका ११ स्थानीय तहमा बँदेल र बाँदरले किसानको मकै खेती मात्र नभई अन्य खेतीमा समेत ठूलो क्षति पु¥याउँदै आएको देखिन्छ ।
कार्यालय प्रमुख दशरथ पाण्डेले दैलेखका ११ वटा स्थानीय तहका ९० वडामा २१ हजार १ सय ७५ हेक्टरमा किसानले मकै खेती लगाउँदै आएको बताए । उनले पछिल्ला वर्षमा जङ्गली जनावरले किसानको बालीमा ठूलो क्षति गर्ने गरेको बताए ।
उनले किसानको क्षतिमा कार्यालयले पर्याप्त मात्रामा राहत उपलब्ध गराउन नसक्ने बताए । ‘अहिले मकै खेतीको समय हो, बँदेल र बाँदरले मकै खेतीमा ठूलो क्षति पु¥याउँदै आएको छ, यसलाई नियन्त्रण गर्न आम किसानसँगै सम्बन्धित निकाय लाग्नुपर्ने देखिन्छ, कृषिले पर्याप्त राहत दिन सक्दैन कार्यविधि त्यही अनुसारको छ’, कार्यालय प्रमुख पाण्डेले भने ।
उनले किसानको कति मकै खेतीमा जङ्गली जनावरले क्षति पु¥यायो भन्ने विवरण कृषि विकास कार्यालयसँग नरहेको बताए । पाण्डेले भने, कार्यालयसँग क्षतिको विवरण छैन, स्थानीय सरकारले सङ्कलन गरेका भन्ने छ, हामीले क्षतिको विवरण हेरेर बिउँसम्म उपलब्ध गराउन सक्छौँ, कृषिले राहत भन्दा पनि अनुदान दिने गर्दछ ।’,
भैरवी गाउँपालिका कृषि शाखा प्रमुख प्रकाश भट्टराईले एक वडामा ५ देखि ७ रोपनी जग्गामा किसानले लगाएको मकैमा बँदेलले क्षति पु¥यायको बताए । उनले गाउँपालिकाका सबै वडाबाट जङ्गली जनावरले मकैमा पु¥याएको क्षतिको विवरण सङ्कलन गर्ने कामलाई तीव्रता दिएको बताए ।

‘मकै बालीमा बँदेल र बाँदरले पु¥याएको क्षतीको विवरण सङ्कलनलाई तीव्रता दिएका छौँ, अहिलेसम्म गाउँपालिका १,२,३,४,५ वडाहरूमा बढी मात्रमा क्षति पुगेको पाएका छौँ, गाउँपालिकाले राहत दिने कुनै नीति बनाएको छैन, जङ्गली जनावरको नियन्त्रणतर्फ तिनै तहका सरकार लाग्नुपर्ने र कानुनमा परिवर्तन पर्नुपर्ने देखिन्छ’, शाखा प्रमुख भट्टराईले धमाका दैनिकसँग भने ।
दैलेखका ११ वटै पालिकामा बाँदर बदेलको आतंक जस्तै भएको छ । सरकारको कानुन एकातिर छ किसानहरु मर्कामा छन् । सरकारले यसवारे नीति नै परिवर्तन गरेर अगाडि बढ्नुपर्ने सुझाव दिन्छन किसान महासंघ दैलेखका अध्यक्ष नरेन्द्र थापा ।
सरकारले ढोरपाटनमा सिकार आक्षरण खोल्न मिल्छ, किसानको समस्या समाधान सँगै राजश्व बृद्धि हुने बिषय तर्फ ध्यान दिदै बँधेलको उचित व्यवस्थापन गर्ने नयाँ नीति आवश्यक रहेको थापाको भनाई छ । सँधै किसानहरु मर्कामा परिरहनुपर्ने हो भने बँधेललाई समेत निश्चित समय र उमेर समूहको शिकार गर्ने व्यवस्थापन गर्न सकेको खण्डमा किसानको बाली पनि जोगिने र राज्यलाई आम्दानी पनि हुने थियो तर त्यो सम्भव देखिदैन् ।









