दैलेख : स्थानीय स्तरमा रोजगारी नपाइने भन्दै पछिल्ला वर्षमा बिदेसिने युवा÷युवतिको संख्या बढ्दो छ । आफ्नो ठाउँमा गरेको लगानी अनुसारको प्रतिफल नआउने भन्दै दक्ष जनशक्ति रोजगारीका लागि भारत लगायतका बाहिरी मुलुक हानिने गरेका हुन् ।
मुलुकमा देखिएको आर्थिक समस्याका कारण केही वर्ष यता व्यवसायमा लागेका उद्यमीहरू समेत पलायन हुने अवस्था छ । व्यवसायबाट बैङ्कको ब्याज, घर भाडा लगायतको खर्च धान्न नसके पछि कतिपय उद्यमीहरू पलायन भएका छन् भने कतिपय विकल्पको खोजीमा छन् ।
संघीयता पछि व्यापार ओरालो लागेको भन्दै सदरमुकाम दैलेख बजारमा व्यवसाय गर्दै आएका व्यापारीले अन्य पेसा रोज्नुपर्ने परिस्थिति सिर्जना भएको बताउने गरेका छन् । स्थानीय स्तरमा गरेको लगानी अनुसारको प्रतिफल नपाइने भन्दै बिदेसिने युवा÷युवतिका लागि एक उदाहरण हुन नारायण नगरपालिका–६ का पदम खड्का ।
आफ्नै ठाउँमा अल्लो प्रशोधन तथा धागो बुनाई उद्योग सञ्चालन गरेका उनले मासिक रुपमा मनग्य आम्दानी गर्दै एक उदाहरण बनेका हुन् । उमेरले ४८ पुगेका खड्काले जीवनमा धेरै गोल चक्कर खाए कहिले भारत त कहिले नेपालका विभिन्न व्यवसाय गरेका उनले अहिले नौमूले गाउँपालिका–१ मालिका अल्लो प्रशोधन तथा धागो बुनाई उद्योग सञ्चालन गरी वर्षमा लाखौँ आम्दानी गर्दै आएका छन् ।
करिब एक दशक बढी भारतमा काम गरेका खड्कालाई गाउँ फर्कन १२ वर्ष लाग्यो । २०५४ सालमा भारत पुगेका खड्का भारतमै उद्यम क्षेत्रमा लामो समय काम गरे । आर्थिक रूपमा फड्को मार्न उनले अनेकौँ संघर्ष गरे । पछिल्लो ६ वर्ष यता नौमूले गाउँपालिका–१ नौमूले बजारमा अल्लोबाट धागो उत्पादन उद्योग सञ्चालन गरी उनले वर्षमा १२ लाख आम्दानी गर्दै आएको खड्काले बताए ।
अल्लोको धागोबाट गुणस्तरीय कपडा उत्पादन हुने भएकाले धागोको माग बढी रहेको उनको भनाई छ । आफ्नै ठाउँमा अल्लोबाट धागो उत्पादन उद्योग सञ्चालन गरेका खड्काले आर्थिक मात्र नभई सामाजिक रूपमा समेत राम्रो पहिचान बनाउन सफल भएका छन् ।
गाउँका स्थानीयलाई रोजगारी समेत दिएका खड्काले दैलेखका उच्च भागमा पाइने अल्लोको धागोबाट उत्पादन भएको कपडाले जिल्लालाई समेत चिनाएको छ । ‘विदेशमा जति श्रम गरे पनि गुमनाम हुनुपर्छ, नेपालमा उद्यम सञ्चालन गरी नाम र दाम दुवै कमाएको छु’, व्यवसायी खड्काले भने ।
व्यवसाय सञ्चालनको सुरुवातीमा अनेकौँ समस्या झेलेका खड्कालाई अहिले पहिलेको जस्तो समस्या भने छैन । ‘सुरुमा बजार अभावदेखि अनेकौँ समस्या थिए, बिस्तारै उत्पादन भएको धागोले बजार पायो, रोजगारी पनि थपियो ।,’ उनले भने । अल्लो व्यवसायबाट आफू पनि स्वरोजगार बन्ने र अरूलाई समेत रोजगारी दिने उद्देश्यले ६ वर्षदेखि अल्लो व्यवसाय सञ्चालन गरिएको मालिका अल्लो प्रशोधन तथा धागो बुनाई उद्योगले जिल्लाकै नाम उँचो राखेको छ ।
पछिल्लो समय अल्लोबाट उत्पादन गरिएका कपडाको माग सोचे भन्दा राम्रो भएकाले अल्लो कपडा बिक्रीबाट वार्षिक १२ लाखसम्मको आम्दानी गरिरहेको उद्यमी खड्काले बताए । अहिले जिल्लामा अल्लोको कपडाको मूल्य प्रति मिटर एक हजारदेखि १५ सयसम्म छ भने धागो किलोको १५ सयसम्म विक्री हुने गरेको खड्काको भनाइ छ ।
उनले विदेसिने युवाले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गर्न सुक्ने बताए । ‘युवाहरू पैसा कमाउने भन्दै विदेश जान्छन् तर यहाँ पैसा फलाउने स्थानीय कच्चा पदार्थ कुहिएर गएको कसैले देख्दैनन्,’ खड्काले भने, ‘अल्लोलाई प्रशोधन गर्दा आम्दानी हुने थाहा पाएँ, गाउँ घरमा प्रशस्त पाइने अल्लोलाई सही सदुपयोग गर्दा बिना लगानी चोखो आम्दानी हुने भएकाले उद्योग स्थापना गरेको हु ।,’
खड्काले सञ्चालन गरेको मालिका अल्लो प्रशोधन तथा धागो बुनाइ उद्योगमा स्थानीय ६ जनाले रोजगारी पाएका छन् । पहिलेका दिनमा अरूकोमा काम खोज्न जानुपर्ने बाध्यतामा रहेका खड्काले उद्योग स्थापना गरी अन्यलाई रोजगारी दिन पाउँदा खुसी लागेको बताए ।
स्थानीय स्तरमा पाइने अल्लोलाई प्रशोधन गरेर कपडा बनाउने सम्भावना देखेर नौमूले गाउँपालिकामा उद्योग स्थापनाका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले सहयोग गरेको उनको भनाइ छ । नौमूले क्षेत्रमा जङ्गलभरि अल्लो (वन सिस्नो) पाइन्छ । त्यसको बाहिरी भाग निकालेर प्रशोधन मार्फत धागो बनाइन्छ । त्यसपछि कपडा लगायत अन्य बस्तु बनाउन प्रयोग गरिन्छ । जसबाट उत्पादन भएको कपडा र धागो निकै महँगो हुने गर्छ ।
सरकारले उद्यमीका लागि प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा ध्यान नदिएको उद्यमीहरू बताउछन् । बर्सेनी ग्रामीण भेगको जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन र सदुपयोगबाट अल्लो व्यवसायले दुर्गमका स्थानीयको जीवको पार्जनको प्रमुख स्रोत बनेको छ । अल्लोबाट बनेका टोपी, आस्कोट, कोट, जुहारी कोट, झोला, पर्स र सल कपडा राम्रो मूल्यमा बिक्री हुने गरेका छन् ।









